कक्षा ११ को परीक्षा सञ्चालनको तयारी गरेपछि विराटनगरमा विद्यार्थीद्वारा विरोध
१२ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९) को हटस्पट बनेको प्रदेश १ को विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालनको तयारी भएको छ । विराटनगरमा पछिल्लो सयम कोरोना संक्रमणको दर पनि बढ्दै गइरहेको छ । तर पनि उच्च माध्यमिक विद्यालय सञ्चालकहरुको दबावमा विराटनगर महानगरपालिकाले असोज २५ गतेदेखि भदौ ३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका समेत सार्वजनिक गरिसकेको छ ।
महामारीको केन्द्र विन्दुमा परीक्षा सञ्चालनको तयारी गरेपछि विद्यार्थीहरुले भने सो कार्यको विरोध जनाएका छन् । कोरोना महामारीका कारण खान लाउनै समस्या भएका अभिभावकबाट दशैंको मुखमा शूल्क असुल्नेगरी परीक्षाको तालिका सार्वजनिक गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका हुन् ।
सोमबार विद्यार्थीले विराटनगर महानगरपालिकाको कार्यालय अगाडि घेराउ गरेका छन् ।
‘दशैंको मुखमा एक्कासी परीक्षा तालिका सार्वजनिक भएको छ,’ विद्यार्थी संरक्षण देवकोटाले भने, ‘शूल्क उठाउन परीक्षा तालिका सार्वजनिक गरेको देखिन्छ, यस्तो वेलामा परीक्षा सञ्चालन गर्दा कोरोना जोखिम बढ्ने सम्भावना हुन्छ ।’
विराटनगरमा कक्षा ११–१२ पढाइ हुने ३७ वटा विद्यालय छन् । जसमा २६ वटा निजी स्तरका छन् । ती विद्यायलमा प्रदेश १ र २ का करिब ८ हजार विद्यार्थी छन् । कोरोना हटस्पटमा एक्कासी ८ हजार विद्यार्थी भेला हुँदा संक्रमण गाउँगाउँ पुग्ने विद्यार्थीहरुको तर्क छ । ‘कोरोनाले खाना लउनै समस्या छ,’ देवकोटा भने, ‘यस्तो महामारीको समयमा शूल्क तिर्न नसकेर कुनै विद्यार्थीले आत्महत्या गर्यो भने त्यसको जिम्मेवारी कसले लिन्छ ।’
एक्कासी परीक्षा तालिका सार्वजनिक भएपछि आफूहरु समस्यामा परेको अर्का विद्यार्थी शशांक पाठक बताउँछन् । ‘हाम्रो घरको पनि त समस्या बुझिदिनुप¥यो नि, शूल्क कसरी तिर्नु ।,’ उनले भने, ‘यस्तो वेला परीक्षा भयो भने हामीलाई कोरोना सर्दैन् ।’
विराटनगरमा अहिलेसमम्म दुई हजार १८६ जनामा संक्रमण पुष्टि भइसकेको छ, भने कोरोनाकै कारण २३ जनाले ज्यान गुमाइसकेको छ ।