ओली र प्रचण्ड आज पनि छलफलमा
१२ असोज, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन् । प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच आज पनि छलफल गर्ने तयारी छ ।
केही दिन यता दिनहुँजसो छलफलमा जुटेका अध्यक्षद्वयबीच आइतवार पनि दुई घण्टा लामो छलफल भएको थियो । तर, मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपनि मन्त्री चयनका विषयमा भने ठोस निष्कर्ष निस्कन सकेको छैन । आइतवार फेरि छलफलमा बस्ने गरी भेट सकिएको थियो ।
ओलीले आइतवारका लागि नै आकस्मिक मन्त्रिपरिषद् बैठक पनि बोलाएका थिए। तर, बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका सन्दर्भमा कुरा नै नउठेको मन्त्रीहरु बताउँछन् । अध्यक्षद्वय ओली र प्रचण्ड ठोस निष्कर्षमा पुगिनसेको उनीहरुको बुझाई छ । तर, नेताद्वयले छिट्टै नै मन्त्रिपरिषद् पुनर्गठन गर्नेगरी छलफललाई निरन्तरता दिएका छन् ।
नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले आजभोलि नै मन्त्रिपरिषद् पुनगर्ठन गर्ने गरी छलफलमा जुटेको जानकारी दिए । अध्यक्षद्वय पुनर्गठनको अन्तिम तयारीमा रहेको उनको भनाइ छ ।
उहाँहरु निरन्तर छलफलमा हुनुहुन्छ । आज पनि छलफल हुँदैछ । मन्त्रिपरिषद् पुनर्गठन आज भोलि नै गर्ने गरी नै लागिरहनु भएको छ, नेम्वाङले भने। ओली प्रचण्ड रिक्त संवैधानिक पदपूर्ति गर्ने विषयमा पनि छलफल गरेका छन् । असोज ६ गते बसेको नेकपा सचिवालय बैठकले संवैधानिक निकायमा छिट्टै पदपूर्ति गर्न ओलीलाई आग्रह गरेको थियो।
त्यस्तै, सचिवालय बैठकले पार्टी एकतको बाँकी काम १० दिनभित्र सक्ने गरी प्रस्ताव ल्याउने जिम्मेवारी अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाई दिएको थियो । उक्त विषयमा पनि नेताहरुबीच छलफल भएको बुझिन्छ ।