काँग्रेसको आरोप प्रधानमन्त्रीको अनिच्छाले संवैधानिक आयोगमा नियुक्ति हुन सकेन
३१ भदौ, रौतहट । नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन नसकेको आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा क्रियाशिलता बढाएको आरोप कांग्रेसको छ ।
लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षीलाई दिन नहुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
राम्रा कामहरुको जस सरकारले लिन खोज्नु स्वाभाविक भएपनि काममा ढिलासुस्ती, गर्न नसकेका÷नगरेका कामहरुमा प्रतिपक्षीलाई दोषि देखाउने प्रवृत्ति प्रधानमन्त्री ओलीमा रहेको उनले बताए ।
१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन । प्रतिपक्षी दलले बार्गेनिङ गरिरहेका कारण पदपूर्तिमा ढिलाइ भइरहेको भन्दै प्रचार भइरहेका बेला शर्माले लामो समयसम्म प्रदेशहरुको समेत नामाकरण गर्न नसक्ने सत्तारुढ दलले संवैधानिक निकायमा प्रतिपक्षीका कारण पदपूर्ति गर्न नसकिएको भनेर प्रचार गर्न नहुने बताए ।