भारत हल्लाइरहेकी कंगना
२७ भदौ, रौतहट । ‘उद्धव ठाकरे १ आज मेरो घर तोडियो, भोलि तेरो घमण्ड तोडिनेछ ।’
बलिउड नायिका कंगना रनौटले फिल्मी स्टाइलमा बोलेको यो ‘डाइलग’ भारतीय मिडियामा निकै चर्चित बनेको छ । महाराष्ट्रका मुख्यमन्त्री तथा हिन्दू कट्टरपन्थी शिवसेनाका प्रमुख उद्धव ठाकरेलाई उनले यसरी लल्कारेकी थिइन् ।
शिवसेना यस्तो अतिवादी पार्टी हो, जोसित प्राय बलिउडकर्मी थर्कमान हुन्छन् । कोही पनि यो समुहसँग पंगा लिन खोज्दैनन् । त्यसमाथि उद्धव ठाकरे मुख्यमन्त्रीजस्तो शक्तिशाली पदमा समेत छन् । तर, कंगनाले उनलाई सिधै ‘तँ’ भनेर सम्वोधन गरिन् । आफ्नो करिअरलाई नै दाउमा राखेर गरेको यो लल्कारले कंगनाको समग्र चरित्र चित्रण गर्छ । यही आक्रामक स्वाभाव र गतिले गर्दा उनको छवि अन्य बलिउड नायिकाभन्दा पृथक छ । उनी कलाकारिताभन्दा माथि उठेकी छन् ।
गत बुधबार बीएमसी (ब्रिहनमुम्बई मुनिसिपल कर्पोरेसन० ले महाराष्ट्र सरकारको निर्देशनमा कंगनाको मुम्बईस्थित कार्यालयमा बुल्डोजर चलाएको थियो । त्यसको प्रतिकार गर्दै उनले आगो ओकलेकी हुन् ।
कंगना र शिवसेनाको विवाद अहिले अदालतमा पुगेको छ । भारतीय जनता र त्यहाँका मिडिया कंगनाको पक्ष र विपक्षमा बाँडिएका छन् ।
शिवसेना र कंगनाबीचको बिवाद बुझ्न धेरै पछाडि फर्किनुपर्दैन । विगत ९ दिनदेखि उनीहरु आमने(सामने भएका हुन् । यो विवाद बलिउड अभिनेता सुशान्तसिंह राजपुतको ‘आत्महत्या’ प्रकरणसँग जोडिएको छ ।
गत १४ जूनमा सुशान्त बान्द्रास्थित आफ्नै घरमा मृत अवस्थामा भेटिए । उनले आत्महत्या गरेको भनेर प्रहरीले प्रारम्भिक वयान दियो । तर, कंगनाले भिडियो सम्वोधनमार्फत सुशान्तको हत्या भएको आशंका व्यक्त गरिन् । यसलाई बलिउडमा व्याप्त नेपोटिप्जम (नातावाद) सँग जोडेर छानविनको माग गरिन् । त्यसयता उनले घटनाको वास्तविकतालाई मुम्बई प्रहरीले ढाकछोप गर्न खोजेको भनेर आवाज उठाइरहेकी थिइन् ।
यही सिलसिलामा गत ३ सेप्टेम्बरमा कंगनाले गरेको एउटा ट्विटले आगो बाल्यो । शिवसेनासँग कंगनाको लडाईंको प्रस्थानविन्दू त्यही ट्विट थियो, जसमा उनले सुशान्तको ‘हत्या’पछि आफूले असुरक्षित महसुस गरिरहेको बताएकी थिइन् । साथै, मुम्बईलाई पाकिस्तान नियन्त्रित काश्मिरसँग तुलना गरेकी थिइन् ।
कंगनाले लेखेकी थिइन्, ‘शिवसेनाका नेता सञ्जय राउतले मलाई खुल्ला धम्की दिएका छन् र मुम्बई नफर्किन भनेका छन् । किन मलाई मुम्बई पाकिस्तान नियन्त्रित काश्मिरजस्तो महसुस भइरहेको छ ।’
कंगनाको ट्विटले शिवसेनालाई स्वभावत उत्तेजित तुल्यायो । एउटा अन्तरवार्तामा त्यसको जवाफ दिँदै शिवसेनाका नेता सञ्जय राउतले कंगनालाई ‘हरामखोर लड्की’ भनिदिए । शिवसेनाका केही महिलाहरु सडकमै ओर्लिए । उनीहरुले कंगनाको पोष्टरमा आफ्नो जुत्तारचप्पलले प्रहार गर्दै आक्रोश पोखे ।
त्यसपछि कंगनाको अर्को ट्विट आयो । उनले लेखिन्, ‘सन् २००८ मा मलाई मुभी माफियाले मानसिकरोगी करार गरेको थियो । उनीहरुले नै २०१६ मा मलाई वोक्सीको संज्ञा दिए । २०२० मा महाराष्ट्रका मन्त्रीले मलाई हरामखोर लड्की भनेका छन् । मैले यति मात्रै भनेकी थिएँ कि म आफूलाई मुम्बईमा असुरक्षित महसुस गरिहेकी छु । असहनशीलताको बहस छेड्ने योद्धाहरु कता छन् ।’
त्यसपछि उनले आफू सेप्टेम्बर ९ तारिखमा मुम्बई आउने घोषणा सामाजिक सञ्जालबाटै गरिन् । त्यसबेला उनी हिमाञ्चल प्रदेशस्थित आफ्नो घरमै थिइन् । यहीबीचमा केन्द्र सरकारले उनलाई वाइ(प्लस सेक्युरिटी उपलब्ध गरायो ।
यता शिवसेनाको नेतृत्वमा रहेको बीएमसीका कर्मचारी अचानक मुम्बईको बान्द्रास्थित कंगनाको कार्यालय मणिकणिर्का फिल्समा पुगे । उनीहरुले त्यहाँ एउटा सूचना टाँसेर फर्किए । उक्त कार्यालय भवन अवैधरुपमा निर्माण भएको भन्दै तत्काल भत्काउन सूचनामा लेखिएको थियो । त्यसको भोलिपल्ट बुधबार कंगनाको कार्यालयमा बुल्डोजर लगेर ध्वंस गरियो । करिब ५० करोड रुपैयाँको भवनमा २ करोडको क्षति भएको बताइएको छ ।
कंगनाले महाराष्ट्र सरकार र शिवसेनाविरुद्ध बम्बे हाइ कोर्टमा पनि अपिल गरिन् । उक्त अदालतले बीएमसीको कारवाही तत्काल रोक्न आदेश दिएको छ, जसले कंगनालाई राहत मिलेको छ । बीएमसीको सोही एक्सनपछि कंगनाले मुख्यमन्त्रीलाई लल्कारेकी थिइन् ।
शिवसेना रक्षात्मक
भारतमा शिवसेना पार्टी उग्रताका लागि चिनिन्छ । आफ्नो थोरै मात्रै आलोचना गर्नेहरुमाथि शिवसेनाका नेता(कार्यकर्ता)बाघले शिकार झम्टेझैं झम्टिन्छन् । भगवान शिवको नाम बेचिरहेको हुनाले जति उग्र भए पनि हिन्दू धर्म मान्ने भारतीयमा यो पार्टीप्रति सहानुभूति छ । बलिउड कलाकारहरु शिवसेनासँग आतंकत हुने कारण यही हो ।
तर, अहिले अस्वभाविक रुपमा कंगनाले शिवसेनालाई रक्षात्मक अवस्थामा पुर्याएकी छिन् । आजभन्दा अगाडि सायदै भारतका कुनै मुख्यमन्त्रीलाई एक सेलिब्रिटीले यसरी ‘तँ’ भनेर सम्वोधन गरेका थिए । यसले उद्धव ठाकरेलाई एकदमै उत्तेजित तुल्याउने अनुमान थियो । उनले अर्को कडा कदम चाल्ने ठानिएको थियो । तर, अहिलेसम्म त्यस्तो केही भएको छैन । ठाकरे मौन छन् ।
सञ्जय राउतले एक अन्तरवार्तामा निकै नम्र अभिव्यक्ति दिएका छन् । बीएमसीले गरेको कारवाहीमा आफ्नो पार्टीको हात नरहेको भन्दै उनले कंगनासँग थप लफडा गर्न नचाहेको बताए । उनले भने, ‘मेरो तर्फबाट यो प्रकरण सकिएको छ । कंगनालाई मुम्बईर्मा बस्न कुनै अवरोध हुनेछैन,’ उनले भनेका छन् ।
सत्ता र शक्ति आफ्नो हातमा हुँदाहुँदै शिवसेना किन कंगनासँग रक्षात्मक भयो त रु एकथरि विश्लेषकहरु शिवसेना अब पहिलेजस्तो आक्रामक नरहेको बताउँछन्, जस्तो बाल ठाकरेको पालामा थियो । उद्धव ठाकरेमा नेतृत्व हस्तान्तरणपछि यो पार्टीमा राजनीतिक चरित्र बढेको उनीहरुको विश्लेषण छ ।
‘बाल ठाकरे यस्ता थिए कि उनको विरोधमा कसैले चुइक्क बोल्यो कि तुरुन्तै आफ्ना कार्यकर्ता सडकमा उतार्थे, उस्तै परे भौतिक आक्रमण गर्न पनि पछि पर्दैनथे,’ एक विश्लेषक भन्छन्, ‘तर, उद्धव ठाकेर अपेक्षाकृत नरम एवं शान्त छन् ।’
उनको भनाइमा अब कंगनासँग पैंठेजोरी खेल्दाभन्दा मौन बस्दा नै पार्टीलाई फाइदा हुने निस्कर्षमा ठाकरे पुगेको हुन सक्छ । कंगनाले मुम्बईलाई पाकिस्तान नियन्त्रित काश्मिरको संज्ञा दिँदा त्यहाँका जनताको सहानुभूति आफूलाई आउने ठाकरेले आशा गरेका छन् । यसले मुम्बईमा चाँडै हुने महानगरको चुनावमा फाग्दा पुग्ने शिवसेनाको आँकलन छ ।
द्वन्द्वको राजनीतीकरण
जानकारहरु यो प्रकरण पूर्णरुपमा राजनीतिकरण भइसकेको बताउँछन् । उनीहरुको भनाइमा कंगनालाई अहिले भारतीय जनता पार्टी (बीजेपी)को आडभरोसा प्राप्त छ । कतिले त कंगनाको काँधमा राखेर वीजेपीले बन्दूक चलाइरहेको दाबीसमेत गरेका छन् ।
महाराष्ट्रको सरकार अलोकप्रिय बनेको खण्डमा त्यसको राजनीतिक लाभ आफूलाई मिल्न सक्ने लोभले बीजेपीले कंगनालाई बोकिरहेको विश्लेषण गरिएको छ । फेरि, आफ्ना प्रतिस्पर्धी दलहरुलाई कुनै प्रभावशाली व्यक्ति वा समुहले निशाना बनाउँछ भने त्यसलाई काँधमा बोक्नु राजनीतिक दलहरुको स्वभाव नै हो । त्यसैले बीजेपीका केही नेताले खुलेरै कंगनाको समर्थन गरिरहेका छन् ।
बरिष्ठ पत्रकार हेमन्त देसाईको भनाइमा अहिलेको प्रकरणले वीजेपी र शिवसेना दुवैलाई राजनीतिक फाइदा हुन सक्छ । उनी भन्छन्, ‘राज्यमा कोरोना महामारीको फैलावटका कारण तीव्र आलोचना खेपिरहेको महाराष्ट्र सरकार र शिवसेनालाई अहिले भएको विषयान्तरले राहत मिलेको छ । अर्कोतर्फ उत्तर भारतीय राज्यहरुमा बीजेपीलाई फाइदा भएको छ । त्यसैले यी दुवै दल यो प्रकरणबाट सन्तुष्ट छन् ।’
अर्कोतर्फ शिवसेनाको साथमा कांग्रेस आई छ । महाराष्ट्रमा शिवसेना, कांग्रेस र एनसीपीको गठवन्धन सरकार छ । आफू सम्मिलित सरकारविरुद्ध कंगनाले जेहाद छेडेकी हुनाले शिवसेनालाई साथ दिनु कांग्रेसको वाध्यता पनि हो ।
कंगानाले पछिल्लोपटक आफ्नो निशाना कांग्रेस आईतिर पनि सोझ्याएकी छन् । उनले आफ्नो एक ट्विटमा शिवसेनालाई सोनिया सेनाको संज्ञा दिइन् । यसबाट कंगना स्वयम् पनि यो मुद्दालाई राजनीतिकरण गर्न नै चम्किएकी छन् भन्ने निस्कर्षमा पुग्न सकिन्छ । कंगनाको यो अभिव्यक्तिपछि कांग्रेस आई अब खुलेर उनको विरुद्धमा उभिने छ ।