विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने शिक्षा मन्त्रालयको तयारी

   २६ भाद्र २०७७, शुक्रबार १४:४८  

२६ भदौ, रौतहट । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ हालै जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निस्शुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय वा विद्यार्थीलाई निस्शुल्क उपलब्ध गराउन लागेको हो ।

कोरोनाभाइरसका महामारीले विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठन गरिएको छ । इन्टरनेट पुगेका ठाउँमा अनलाइन कक्षा र इन्टरनेट पहुँच नभएका ठाउँमा शिक्षक नै विद्यार्थीका घरघरसम्म पुगेर सिकाइलाई निरन्तरता दिइँदै आइएको छ ।

शिक्षा मन्त्रालयले इन्टरनेट सेवा प्रदायकसँग विद्यार्थी र विद्यालयलाई निस्शुल्क इन्टरनेट व्यवस्थापन लगायतका विषयमा छलफल सुरू गरेको प्रवक्ता दीपक शर्माले जानकारी दिए । ‘हामी इन्टरनेट प्रदायकहरूसँग छलफलमै छौं,’ ‘असोज पहिलो सातासम्म इन्टरनेटमा सहुलियत वा निस्शुल्क उपलब्ध गराउनेबारे निर्णयमा पुग्छौं ।’मन्त्रालयले जारी गरेको सिकाइ सहजीकरण निर्देशिकामा मन्त्रालयको भूमिमा इन्टरनेट निस्शुल्क उपलब्ध गराउने उल्लेख छ ।

यस्तै, एकीकृत शिक्षा पोर्टल निर्माण गर्ने र शैक्षिक टेलिभिजन च्यानल स्थापना र सञ्चालन, विद्युतीय शिक्षण सामग्री विकास, अनलाइन प्रविधि तथा उपकरण, भर्चुअल ल्याब लगायतका लागि मन्त्रालयले आवश्यक बजेटसमेत व्यवस्थापन गर्ने निर्देशिकामा उल्लेख छ ।