कंगनाको प्रश्न सोनियालाई–‘मेरो घर भत्कदा तपाई दुःखी हुनुहुन्न ?’
२६ भदौ, रौतहट ।
भारतको महाराष्ट्रको सरकारले नायिका कंगना रनावतको मुम्बइमा अवस्थित अफिस भत्काएपछि यसको चर्को विरोध भैरहेको छ । नायिका रनावतले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई कडा चुनौती दिइसकेकी छिन । अब उनले कांग्रेस पार्टीमाथि पनि प्रश्न सोझाएकी छिन ।
उनले ट्विट गर्दै लेखेकी छिन–‘सोनिया गान्धीजी, एक महिला भएको नाताले महाराष्ट्रमा तपाइको सरकारले गरेको क्रियाकलापबाट के तपाई दुःखी हुनुहुन्न ? के तपाई डाक्टर अम्बेडकरले बनाएको संविधानको सिद्धान्त पालना गर्नका लागि आफ्नो सरकारसँग अपिल गर्न सक्नुहुन्न ?’
कंगनाले बाल ठाकरेलाई शिवसेना एक दिन कांग्रेस पार्टीमा विलय हुन्छ भन्ने डर थियो भनेर समेत उल्लेख गरेकी छिन । उनले, यस भन्दा अगाडि शिवसेना सोनिया सेना बनेको आरोप समेत लगाएकी थिइन ।
मुम्बई फर्किएपछि आफ्नो भत्किएको अफिस पुगेकी कंगनाले बिहिबार १० मिनेट अफिस परिसरमा बिताएकी थिइन । उनले, अफिस पूर्ननिर्माण गर्ने रकम आफूसँग नभएकाले भत्किएको अफिसबाटै काम सुरु गर्ने पनि उल्लेख गरेकी छिन ।
अवैध निर्माण भएको भन्दै बीएमसीले उनको अफिसमा डोजर चलाएको थियो । तर, यसलाई भारतीय मिडियाले कंगना र महाराष्ट्र सरकारविचको वाकयुद्धको परिणाम भन्दै टिप्पणी गरेका छन ।