यसअघि यही असार ९ गते अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरुलाई काठमाडौं ल्याइएको थियो । पहिलो उडानमा जस्तै अहिले पनि अष्ट्रेलियामा आ आफ्न्त भेट्न र घुम्न आएका पर्यटकहरु नेपाल फर्काइँदैछ । चार महिना लामो लकडाउनका कारण उनीहरु यतै रोकिएका थिए । नेपालबाट ५ बच्चासहित ४५ जनालाई लिएर आएको नेपाल एयरलाइन्सको हवाई जहाजबाट उनीहरु स्वदेश फर्किन लागेका हुन् । हवाई जहाजमा क्याप्टेन विजय लामासहितको टोली छ ।
नेपाल फर्किन लागेकाहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले विमानस्थलमा सहयोग गरेको छ । विमानस्थलभन्दा टाढाबाट आएकाहरुलाई शुक्रबार साँझ एनआरएनएले स्वयंसेवी ढंगले खाने–बस्ने व्यवस्था मिलाएको छ ।
साथै शनिबार बिहान पनि ती यात्रुहरुलाई ब्रेकफास्ट र उपहारको व्यवस्था मिलाइएको छ । अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरुले पनि नेपाल फर्किन लागेका नेपालीहरुलाई सहयोग गरिरहेका छन् ।