चेन्नई संकटमा ,रैना फर्किए
भदौ १४, रौतहट । चेन्नई सुपर किंग्सका सुरेश रैनाले ‘व्यक्तिगत कारण’ देखाई यस सिजनको इन्डियन प्रिमियर लिग खेल्न नसक्ने भएका छन् । यसको घोषणा शनिबार भएको हो । उनी यूएईबाट भारत फर्किइसकेका छन् ।
‘सुरेश रैना व्यक्तिगत कारण भारत फर्किएका छन् र उनले बाँकी रहेको आईपीएल खेल्ने छैनन् । यस घडीमा चेन्नई सुपर किंग्स सुरेश र उसको परिवारलाई सहयोग गर्न आह्वान गर्दछ,’ प्रमुख कार्यकारी काशी विश्वनाथनले सुपर किंग्सको ट्विटर ह्यान्डलमा भनेका छन् ।
रैना भारत फर्किनु चेन्नईका लागि अर्को दुर्भाग्य निम्तिसकेको थियो । शुक्रबार मात्र चेन्नईका १० सदस्यमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । क्रिकइन्फोका अनुसार त्यसमा एक भारतीय खेलाडी थिए । संक्रमणमा टोलीका सपोर्ट स्टाफ सदस्य र नेट बलरको संख्या बढी छ । अब चेन्नईको प्रशिक्षण दुबईमा सेप्टेम्बर १ मा सुरु हुनेछ ।
निर्धारित तालिकाअनुसार चेन्नईको प्रशिक्षण शुक्रबार सुरु हुँदै थियो । भारतमा कोरोनाको महामारी नरोकिएपछि आईपीएल क्रिकेटलाई यूएईमा खेलाउने निर्णय गरिएको थियो । सेप्टेम्बर १९ देखि सुरु हुने आईपीएलको नयाँ सिजनको खेलतालिका अझै प्रकाशित भएको छैन ।
रैना आईपीएलको सफल ब्याट्सम्यान हुन् । उनले चेन्नईबाट सबै संस्करण खेलेका छन् । २००८ यता खेलेको सबै आईपीएलमा गरी रैनाले १ सय ६५ खेल खेलेका छन् । सन् २०१८ मा किंग्स इलेभेन पन्जाबसँगको एक खेलमात्र गुमाएका छन् । त्यसअघि उनले लगातार १ सय ५८ लगातार आईपीएल खेल खेलेका थिए । उनी आईपीएलमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ५ हजार ३ सय ६८ रन बनाएका छन् र उनीभन्दा अगाडि सर्वाधिक रन बनाउनेमा विराट कोहलीको ५ हजार ४ सय १२ रनमात्र छ । उनले २०१६ र २०१७ मा गुजरात लायन्सबाट खेलेका थिए, जतिखेर चेन्नईलाई २०१३ मा स्पट फिक्सिङका कारण दुई वर्ष खेल्न प्रतिबन्ध लगाइएको थियो । रैनाले यसै महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले संन्यास लिएलगत्तै रैनाले आफ्नो निर्णय पनि सुनाएका थिए ।
शनिबार पुनः चेन्नईका एक खेलाडीमाथि कोरोना संक्रमण पुष्टि भएको छ । ती संक्रमण खेलाडीको पहिचान खुलाइएको छैन, तर उनले भारतबाट अझै नखेलिसकेको जनाइएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले अगस्ट २० देखि २८ सम्म यूएईमा सबै सहभागी हुने गरी १ हजार ९ सय ८८ जनाको आरटी–पीसीआर गरेको जनाएको छ । त्यसमा १३ जनालाई सक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ खेलाडी रहेको जनाइएको छ ।
संक्रमित नजिक रहेका सबैलाई आइसोलेसनमा राखिएको र उनीहरूलाई आईपीएलको स्वास्थ्य टोलीले निगरानी गरिरहेको बीसीसीआईले जनाएको छ । विज्ञप्तिमा ती १३ जना कुन टिमसँग सम्बन्धित छ भनेर खुलाइएको छैन । तर तिनी सबै सुपर किंग्ससँग आबद्ध भएको जनाइएको छ । त्यसमध्ये एक संक्रमित वरिष्ठ फ्रेन्चाइज अधिकारीकी पत्नी रहेको जनाइएको छ । आईपीएल नियमअनुसार जसलाई कोरोना संक्रमण पुष्टि भएको छ उनीहरूले कम्तीमा दुई साता क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
टिमका अन्य सदस्यसँग जोडिनुअघि थप दुई परीक्षण गर्नुपर्नेछ । यूएईमा भएको परीक्षणपछि चेन्नईको १० सदस्यीय टोलीमा कोरोना संक्रमण देखिएको हो । कोभिड–१९ को प्रोटोकलअनुसार यूएईमा तीन पटक परीक्षण अनिवार्य छ ।
यूएईमा पुगेपछि एयरपोर्टमा पहिलो परीक्षण, त्यसपछि ६ दिने आइसोलेसनको पहिलो, तेस्रो र छैटौं दिन परीक्षण गर्नुपर्ने प्रावधान छ । यी सबै परीक्षण पार गरेपछि मात्र प्रशिक्षण सुरु गर्न पाइन्छ । यो नतिजाले आईपीएललाई सचेत गराएको छ । विगतको परम्पराअनुसार साबिक उपविजेता चेन्नईले च्याम्पियन मुम्बई इन्डियन्ससँग पहिलो खेलमा प्रतिस्पर्धा गर्नु पर्नेछ । चेन्नईमा ६ दिने कन्डिसनिङ क्याम्पपछि सुपर किंग्सको भारतीय प्रतिनिधिसम्मिलित टोली अगस्ट २१ मा यूएई पुगेको थियो ।
यो समूहमा कप्तान महेन्द्रसिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, दीपक चहार, पीयूष चावलालगायत वरिष्ठ खेलाडी थिए ।