युनाइटेडका कप्तान म्याग्वायर रिहा भए
भदौं ७, रौतहट । म्यान्चेस्टर युनाइटेडका कप्तान ह्यारी म्याग्वायर माइकोनोस टापुको प्रहरी हिरासतबाट रिहा भएका छन् । आफू निर्दोष रहेको याचिकापछि उनलाई रिहा गरिएको हो ।
२७ वर्षीय खेलाडीविरुद्धको मुद्दाको सुनुवाइ मंगलबारका लागि तय गरिएको छ । तर, अब उनी भने घर फर्कन पाउने छन् र वकिलले उनको प्रतिनिधित्व गर्नेछन् । उनीमाथि के के मुद्दा लगाइएको छ भन्ने अझै यकिन हुन सकेको छैन । शनिबार रिहा भएपछि म्याग्वायरले कुने प्रतिक्रिया दिन चाहेनन् । उनको वकिलले भने म्याग्वायर ‘अहिले’ स्वतन्त्र भएको जिकिर गरे ।
माइकोनोसमा प्रहरीसँग कथितरुपमा भएको झगडापछि ‘तीन विदेशी’ लाई पक्राउ गरिएको अधिकारीहरुले जानकारी दिएका थिए । ग्रीक प्रहरीका अनुसार एक बारमा दुई समूहबीच भएको झगडा छुट्याउन उनीहरु त्यहाँ पुगेका थिए ।
त्यहाँ उपस्थित तीन विदेशी पर्यटकले प्रहरीमाथि अपशब्द प्रयोग गर्नुका साथै एक प्रहरीमाथि भौतिक आक्रमण गरेको आरोप छ । उनीहरुले मुद्दा नचलाउनका लागि घुस दिने प्रयास गरेको पनि प्रहरीले बताएका छन् ।
प्रहरीका अनुसार उनीहरु माथि प्रहरी अधिकारीमाथि हिंसा, अवज्ञा, शारीरिक हानी, अपमान र घुसको प्रयासको आरोप दर्ता गरिएको छ ।
सन् २०१९ को अगस्तमा म्याग्वायर डिफेन्डरको लागि विश्व कीर्तिमानी ८ करोड पाउन्डमा लेस्टर सिटीबाट युनाइटेडसँग आबद्ध भएका हुन् । ‘माइकोनोसमा ह्यारी संलग्न भएको कथित घटनाबारे क्लब जानकार रहेको छ,’ युनाइटेडले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘क्लब ह्यारीको सम्पर्कमा रहेको छ र उनले ग्रीक अधिकारीहरुलाई आवश्यक सहयोग गरिरहेका छन् ।’