अभिनेत्री महिमा चौधरीलाई क्यान्सर

   २६ जेष्ठ २०७९, बिहीबार १८:२४  

२६ जेठ, एजेन्सी ।
बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर भएको छ । स्तन क्यान्सरका कारण गरिएको किमो थेरेपीले महिमाको कपाल झरेका छ र उनलाई लगभग चिन्न मुश्किल छ ।

कुनैबेला आफ्नो सुन्दर र ग्ल्यामर अन्दाजले अत्यधिक प्रशंसक बटुलेकी महिमा चौधरीको स्वरुप फेरिएको छ ।

महिमा चौधरीसँगको भिडियो सेयर गर्दै अनुपम खेरले लेखेका छन्, ‘मैले एक महिनाअघि आफ्नो ५२५ औँ फिल्म ‘द सिग्नेचर’ मा एक महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि अमेरिकाबाट महिमालाई फोन गरेको थिएँ । तर कुराकानीको क्रममा महिमालाई स्तन क्यान्सर भएको थाहा पाएँ । उनले मैले यो खबर प्रशंसकमाझ साझा गरुन् भन्ने चाहना राखेकी छिन् । महिलाको एटिट्युडले थुप्रै महिलालाई हिम्मत दिनेछ ।’

अनुपम खेरले प्रशंसकसँग गरे विशेष अपिल

अनुपम खेरले आफ्नो पोस्टमा प्रशंसकसँग महिलालाई आफ्नो प्रेम, प्राथर्ना र अत्यधिक आशिर्वाद दिन आग्रह गरेका छन् । आफ्नो पोस्टमा अनुपम खेरले उनी फिल्मको सेटमा आइसकेको र उनी अब उडान भर्नका लागि तयार भइसकेको पनि बताए ।

आफ्नो बारे बताउँदै गर्दा भावुक भइन् महिमा

महिमा चौधरीले आफ्नो बारे जानकारी दिने क्रममा अनुपम खेरले उनलाई फिल्मका लागि फोन गर्दा अस्पतालमा उनको उपचार चलिरहेको बताइन् । महिमाले भनिन्, ‘मलाई त्यतिबेला वेब सिरिज र फिल्म गर्नका लागि अत्यधिक फोन आइरहेको थियो तर मैले ती अफर स्वीकार गर्न सकिरहेको थिइनँ किनभने अहिले मेरो टाउकोमा कपाल थिएन ।’

उनले थपिन्, ‘जब अनुपम खेरले मलाई फिल्ममा काम गर्न अफर गरे तब मैले अस्वीकार गर्न सकिनँ र ‘फिल्ममा विग लगाएर आउँ’ भनेर सोधेँ । ’

आफ्नाबारे बताउँदै गर्दा महिमा भावुक पनि भइन् । उनले आँसु पुछ्दै आफूबारे बताइरहेका थिए । उनले भनेकी छिन्, ‘ममा क्यान्सरको कुनै लक्षण थिएन । म वार्षिक रुपमा रुटिन चेकअप गर्छु, त्यति नै बेला मेरो स्तनमा क्यान्सर हुनसक्ने कुरा आएको थियो ।’ एजेन्सी