पिउने पानीको स्रोत पनि फोहोर हुनसक्छ ।
साउन २६, रौतहट ।
खानेकुरा चाडै सड्ने, गल्ने, संक्रमित हुने जोखिम रहन्छ । झिंगा, साङ्लाले समेत खानेकुरा दुषित बनाइदिन्छ । पिउने पानीको स्रोत पनि फोहोर हुनसक्छ । यसले गर्दा पेड गडबड हुने वा झाडापखला लाग्नसक्छ । झाडापखला लाग्दैमा डराउनुपर्ने भन्ने हुँदैन । आरम, सरसफाई, पोषिलो खानपान, पर्याप्त पानीको सेवन आदिबाट सजिलै निको हुन्छ । तर, हप्तादिन भन्दा लामो समयसम्म निरन्तर झाडापखला लागेमा भने सर्तक हुनुपर्छ ।
निरन्तर झाडापखला भएमा थप उपचारको खाँचो हुन्छ । यस्तो अवस्थामा लापरवाही गरिए जलबियोजन अर्थात शरीरमा पानीको मात्रा अभाव भएर जटिलता उत्पन्न गर्न सक्छ । यसले मृत्युसम्म हुने जोखिम रहन्छ ।
झाडापखला हुँदा शरीरमा पानीको मात्रा कम हुँदै जान्छ । यो क्रम निरन्तर रहेमा जलबियोजन हुन्छ । जलबियोजन भएमा केही लक्षण देखापर्न थाल्छ । जस्तो कि, तिर्खा लागिरहन्छ, ओंठ मुख सुख्खा देखिन्छ । रुँदा आँखाबाट आँशु आउँदैन । आँखा भित्र गाडिन्छ । यस्तो अवस्थामा बिरामीले झर्को मान्ने, वेचैन हुने, शिथिल हुने जस्ता लक्षण देखिन्छन् ।
त्यसैले झाडापखला लागेमा पर्याप्त सफा पानी वा झोल पदार्थ सेवन गर्नुपर्छ । सुपाच्य एवं पोषिलो खानेकुरा खानुपर्छ । जलबियोजन भएको स्थितिमा तुरुन्तै उपचार खोज्नुपर्छ । तर, अहिलेको प्रतिकुल अवस्थामा अस्पताल धाइरहन त्यती सजिलो छैन । त्यसैले कुनैपनि समस्या झेल्नुभन्दा सावधानी अपनाउनु नै उत्तम हुन्छ । झाडापखला लाग्नुमा हामीले खानपान र सरसफाईमा गरिने लापरवाही मूख्य कारण हो । त्यसैले झाडापखलाबाट बच्न निम्न उपाय अपनाउनुपर्छ ।
कसरी बच्ने;
–खानामा ध्यान दिन जरुरी छ । ताजा, सुपाच्य खानेकुरा मात्र खानुपर्छ । बासी वा जथाभावी राखिएको खानाले पेट गडबड गराउँछ ।
–सरसफाईमा पनि ध्यान दिनुपर्छ । दिसा गरेपछि राम्रोसँग साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ । त्यसैगरी खाना खानुअघि र पछि राम्ररी हात धुनुपर्छ ।
–फलफुल तथा हरियो सागपातलाई राम्रोसँग पखालेर मात्र खाने गर्नुपर्छ । र, खानेकुरालाई जहिले पनि छोपेर राख्नुपर्छ ।
–पानी राम्ररी उमालेर मात्र पिउनुपर्छ ।
कस्तो अवस्थामा जोखिम हुन्छ
– पटक पटक पातलो दिशा भएमा
– राम्रोसँग पिउन र खान नसकेको अवस्थामा
– निरन्तर वान्ता भएमा
– ज्वरो आइरहेमा
– अत्याधिक तिर्खा लाग्ने समस्या भएमा,
– दिसामा रक्त देखिने लगायतको अवस्थामा
उपचार विधि;
– जलबियोजन हुन नदिनको लागि नियमित रुपमा झोलिलो पदार्थको सेवन गराउनुपर्छ । झाडापखाला नथामिएसम्म यस्तो पदार्थ खुवाइराख्न जरुरी हुन्छ ।
– प्रत्येक पटक पातलो दिशा गरेपछि, जीवनजल दिनुपर्छ । यसमा पनि ध्यान पु¥याउनुपर्छ । दुई देखि १० बर्षसम्मका लागि १०० देखि २०० मि।लि, १० वर्ष भन्दा बढी उमेरकालाई बिरामीलाई आवश्यकताअनुसार जीवनजल दिनुपर्छ ।
– झाडापखला लागेको बिरामीको उपचार भनेकै जलबियोजनबाट बचाउनु हो । जलवियोजन भएमा ज्यान नै जानसक्ने समस्या हुन्छ ।
– झाडापखालाका विरामीलाई पुर्नजलिय उपचार नै सबैभन्दा महत्वपुर्ण हुन्छ । बिरामीलाई कसरी र कतिसम्म पुर्नजलिय उपचार गर्ने भन्ने कुरा बिरामीको शारीरिक अवस्था र जलवियोजनको स्थितिमा भर पर्छ ।