मलाई काम गर्न देउ सरकार : लेखा अधिकृत यादव
२५ चैत, रौतहट । रौतहटको गौर नगरपालिकामा कार्यरत एक लेखा अधकिृतले आफूलाई लामो समय देखि कार्यालयमा जिम्मेवारी विहीन बनाएर राखिएको बताएका छन । सातौँ तहका लेखा अधिकृत सोहन कुमार यादव गौर नगरपालिकामा जिम्मेवारी विहीन भएर बसेको चार वर्ष बितेको छ ।
पालिकामा यादवको सट्टा उनी भन्दा कनिष्ठ छैठो तहका सोहेल अन्सारीलाई खाता संचालन सहितको आर्थिक अधिकार दिइएको छ । आफू सो पदका लाग योग्य हुँदाहुँदै पनी कार्यालयले जिम्मेवारी नदिएको यादवले बताए । पद अनुसारको काममा खटाउन सम्बन्धित निकायलाई आग्रह गर्दा पनि हालसम्म जिम्मेवारी विहीन रहेको उनले बताए । “मलाई काम गर्न दिन कोष तथा लेखा नियन्त्रक कार्यालय मा समेत निवेदन दिएको छु ।” यादवले भने “सरकारसँग जिम्मेवारी अनुरुपको काम दिन आग्रह गर्दछु ।”
यादवको निवेदन पश्चात कोष तथा लेखा नियन्त्रक कार्यालयले गौर नगरपालिकालाई पत्राचार गर्दै जिम्मेवारी अनुसार काममा लगाउन अनुरोध गरेको छ । गौर नगरपालिकामै हाजिर गर्ने यादवलाई कार्यालयले बस्ने उचित व्यवस्था समेत नगरेको र दिनभर बरण्डामा उभिएर समय बिताउनुपर्ने अवस्था रहेको उनले बताए ।
हालै पालिकामा आएका प्रमुख प्रशासकीय अधकिृत विष्णु प्रसाद पौडेलले समस्या समाधान गर्ने प्रतबिद्धता जनाएको यादवले बताए ।
यस विषयमा नगर प्रमुख शम्भु साहले भने सम्बन्धति कर्मचारीले आफैं जिम्मेवारी नखोजेकाले काम नदिएको बताएका छन । यादवले सरुवाका लागी दिएको निवेदन आफुले स्वीकृत गरेको समेत नगरप्रमुख साहले बताए ।






