‘ज्योति केसी दृष्टिविहीन महिला क्रिकेट खेलाडी प्रतिभा पुरस्कार’ द्वारा सम्मान

   २२ श्रावण २०७७, बिहीबार १६:१३  

साउन २२, रौतहट । नेपाल दृष्टिविहीन क्रिकेट संघले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा दृष्टिविहीन क्रिकेट विकासमा योगदान पुर्‍याएको भन्दै तीन क्रिकेटरलाई ‘ज्योति केसी दृष्टिविहीन महिला क्रिकेट खेलाडी प्रतिभा पुरस्कार’ द्वारा सम्मान गरेको छ ।

१४ वर्षदेखि दृष्टिविहीन क्रिकेट खेलिरहेकी भगवतीले सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानविरुद्धको शृंखलामा नेपालको कप्तानी गरेकी थिइन् ।बी–३ समूहबाट राष्ट्रिय कप्तान भगवती भट्टराई बराल, बी–२ समूहबाट मनकेशरी चौधरी र बी–१ समूहबाट आशा रेगामीले पुरस्कार पाएका छन् ।

दुवै शृंखला नेपालले जितेको थियो । ती दुवै शृंखलामा मनकेशरीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेकी थिइन् । दशकदेखि क्रिकेटमै सक्रिय आशा गतवर्ष पाकिस्तानसँगको शृंखलामा प्लेयर अफ द सिरिज भएकी थिइन् ।

दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले भिन्न क्षमता भएकाको क्रिकेटलाई सहयोग गरी यो अवस्थासम्म पुर्‍याउने सबैलाई वार्षिकोत्सवको अवसरमा धन्यवाद दिएका छन् । संघले हरेक वर्ष साउन २२ गते स्थापना दिन मनाउँदै आएको छ ।