जापानी अर्बपति आईएसएसको यात्राका लागी प्रस्थान

   २३ मंसिर २०७८, बिहीबार १२:३६  

२३ मंसिर, रौतहट । जापानी अर्बपति युसाकु मेजावा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएसको यात्राका लागि बुधवार प्रस्थान गरेका छन्।

अन्तरिक्ष यात्रामा जाने अर्बपतिको सूचीमा थपिँदै मेजावाले त्यहाँ गल्फ खेल्नेसहित १०० वटा कुरा गर्ने बताएका छन्।

जोजोटाउनजस्ता ईकमर्श कम्पनीहरूमार्फत धनी बनेका मेजावा कुनै बेला एउटा रक सङ्गीत टोलीका ड्रमर रहेका थिए र उनले गत वर्ष अन्तरिक्ष यात्रामा सँगै जान प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम आयोजना गरेका थिए। उनले सो कार्यक्रम पछि रद्द गरेका थिए।

काजाखास्तानबाट उनलाई बोकेको एउटा रुसी रकेट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो। लामो समययता पहिलो अन्तरिक्ष पर्यटक बनेका उनले आईएसएसमा १२ दिने बिताउने बताइएको छ।

उनले सन् २०२३ मा चन्द्रमाको यात्रा गर्न सुरु गरेको अभियानको एउटा कदमको रूपमा यसलाई लिइएको छ।

बुधवार मेजावासँगै रुसी अन्तरिक्षयात्री एलेक्जान्डर मिसुर्किन र भिडिओ निर्माता योजो हिरानो रकेटमा थिए। हिरानोले मेजावाको यूट्यूब च्यानलका लागि यात्राको भिडिओ खिच्नेछन्।

मेजावाले यात्राअघि कठिन तालिम गरेका थिए। तालिमका क्रममा उनलाई तेस्रो खाटमा सुत्न, घुमिरहेको मेचमा बसिरहन र लामो समय ब्याडमिन्टन खेल्न लगाइएको थियो। ती सबै अभ्यास उनले आफ्नो सामाजिक सञ्जालमा राखेका छन्।

मेजावाले यात्राअघिको पत्रकार सम्मेलनमा उनको सपना साकार हुन लागेको बताएका थिए।

“म जस्तै साधारण मानिसहरूले पनि आशा र सपना पाल्न सक्छन् र यस्तो अज्ञात स्थानमा जान सक्छन्,” उनले भनेका थिए।

१०० कार्यको योजना

उनले अन्तरिक्षमा सार्वजनिक रूपमा प्राप्त सुझावमध्ये छानिएका १०० कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ती कार्यहरूमा आफ्नो साथी अन्तरिक्षयात्री चिनाउने र आईएसएसभित्र कस्तो छ भनेर देखाउने जस्ता अपेक्षाकृत कार्यका साथै गल्फ खेल्ने, चुइङगम फुक्ने र कागजको प्लेन उडाउने जस्ता अनौठा कुराहरू पनि छन्।

मेजावाले यात्राका लागि आठ करोड ८० लाख अमेरिकी डलर खर्च गरेको बताइन्छ।

हालैका दिनमा अमेरिकी अर्बपति जेफ बेजोस र ब्रिटिश रिचार्ड ब्रान्सनपनि आ-आफ्नो निजी कम्पनीको रकेटमा अन्तरिक्ष यात्रामा गएका थिए।

मेजावा जापानका सबैभन्दा धनी व्यक्तिको सूचीमा ३०औँ स्थानमा छन् र उनीसँग झन्डै दुई खर्ब अमेरिकी डलर बराबर सम्पत्ति रहेको बताइन्छ।

सन् २०१९ मा उनी इलोन मस्कको स्पेसएक्स कम्पनीबाट चन्द्रमा यात्रामा जाने पहिलो पर्यटकका रूपमा चिनाइएका थिए। सन् २०२३ मा हुने यो यात्रामा उनीले आफ्नो खर्चमा आठ जना सर्वसाधारणलाई चन्द्रमा लाने बताएका छन्।

सन् २०१९ मा उनले नगद दिने वाचा गरेपछि उनको एउटा ट्वीट सबैभन्दा बढी रिट्वीट भएको ट्वीट बनेको थियो।

बीबीसी