रौतहटमा एकै दिन सशस्त्र प्रहरीका ३ भवनको उद्घाटन

   २२ चैत्र २०८२, आईतवार १७:५८  

रौतहट, २२ चैत । रौतहटमा निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलको तिन स्थानका आधुनिक भवनहरुको उदघाटन सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बलको तिन स्थानका आधुनिक भवनहरुको उदघाटन सम्पन्न भएको छ । रौतहटको गौरमा प्रस्तावित सिमा सुरक्षा गुल्म, राजदेवीको बेलबिछवा बिओपी र इशनाथ नगरपालिकाको औरैयामा निर्माण सम्पन्न भएको बिओपी भवनहरुको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कृष्ण ढकालले उदघाटन गरेका हुन ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कृष्ण ढकालले आईतवार भवन उदघाटन गर्दै सीमाक्षेत्रको सुरक्षालाई अझ प्रभावकारी बनाउन भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताए । उनले आफु रौतहटमा एसपीका रुपमा कार्यरत रहदा बेसहरुको दयनीय अवश्था प्रत्यक्ष अनुभव गरेको बताए । वर्षा र बाढीका बेला बिओपीहरु डुबानमा पर्दाको पीडाका आफुले प्रत्यक्ष महशुस गरेको स्मरण गर्दै डिआइजी ढकालले निर्माण सम्पन्न भएका नयाँ भवनहरुले सशस्त्र प्रहरीको कार्य क्षमतामा वृद्धि हुने बताए ।

उनले सीमामा रहेका बोर्डर आउट पोस्ट (बीओपी) हरूमा भौतिक पूर्वाधारको अभावबारे संगठन पूर्ण सचेत रहेको र विनियोजित बजेटअनुसार क्रमशः आफ्नै भवन निर्माण भइरहेको बताए ।
६ करोड भन्दा बढिको लागतमा सम्पन्न भएका तिनवटै नवनिर्मित भवन निर्माणमा सहयोग पु्र्याउने विभिन्न व्यक्तिलाई उदघाटन समारोहमा सम्मान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी मधेश प्रदेश महिला संघकी अध्यक्ष संगिता सुवेदी, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, नेपाली सेनाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । समारोहकै अवसरमा प्रमुख अतिथिसहितका पदाधिकारीहरूले गुल्म परिसरमा वृक्षारोपणसमेत गरेका थिए ।