डाटा चोरी गरेको आरोपमा गुगलविरुद्ध ५९ खर्बको मुद्दा दायर
गुगलविरुद्ध पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मुद्दा परेको छ ।
निकै गोप्य भनेर गुगल आफैँले दिएको ब्राउजरबाट प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप गुगललाई लागेको हो ।
क्रोममा ‘कन्ट्रोल, सिफ्ट र एन’ दबाउँदा नयाँ ब्राउजर ‘इन्कगिन्टो’ (प्राइभेट मोड) खुल्छ ।
यो ब्राउजरबाट क्रोममा हेरिएका कुनै पनि कुरा सोही कम्प्युटर वा मोबाइल चलाउने अर्काे व्यक्तिले देख्दैन अथवा गोप्य रहन्छ ।
गुगलले आफैँले समेत ‘इन्कगिन्टो’मा हेरिएका कुराहरूको सर्च हिस्ट्री, भिजिट गरेका वेबसाइटजस्ता कुनै पनि तथ्यांक आफूले संकलन नगर्ने बताएको छ ।
तर, गुगलले यसै ‘इन्कगिन्टो’ मोडबाट प्रयोगकर्ताको डाटा संकलन गरेको आरोप लागेको हो ।
सन् २०१६ देखि ‘इन्कगिन्टो’ प्राइभेट मोडको फिचर प्रयोग गर्दै आएका करोडौँ प्रयोगकर्ताको डाटा गुगलले चोरेको हुन सक्ने मुद्दा दाबी गर्ने बोइज सिलर फ्लेक्सनरले जनाएको छ ।
क्यालिफोर्नियास्थित सानजोसेको संघीय अदालतमा गुगलविरुद्ध बोइज सिलर फ्लेक्सनरले मुद्दा दायर गरेको हो ।
गुगलले सबैजसो अमेरिकीलगायतका थुप्रै प्रयोगकर्ताले के हेरे, उनीहरूको इच्छाको विषय, साथी समूहजस्ता कुराको तथ्यांक संकलन गरेको आरोप लागेको छ ।
त्यसका लागि गुगलले आफ्ना अन्य टुलहरू प्रयोग गरेको जनाइएको छ ।
यद्यपि गुगलका प्रवक्ता जोस कास्टानेडाले भने यसको आरोप गलत रहेको बताएका छन् ।
‘प्राइभेट मोडमा रहेका वेला भिजिट गरेको वेबसाइटले वेबसाइटमा के हेऱ्यो भन्ने कुराको तथ्यांक राख्न सक्छ, यसले वेबसाइटलाई थप व्यवस्थित बनाउन मद्दत गर्छ,’ उनले बताएका छन् ।
कम्पनीले डाटा संकलन गरेको आरोपमा गोपनीयताविरुद्ध क्यालिफोर्नियाकाे कानुनअनुसार प्रतिप्रयोगकर्ता पाँच हजार अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।
(एजेन्सी)