‘सूर्यवंशी’को कमाई १०० करोडभन्दा धेरै

   १ मंसिर २०७८, बुधबार १२:४४  

मुम्बई । कोरोना संक्रमणको डर कायमै रहँदा दिपावलीको अवसरमा हलमा रिलिज भएको अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’ले १०० करोडभन्दा धेरै कमाई गरेर इन्डष्ट्रिमा नयाँ उत्साह बढाएको छ । चलचित्रको यो कमाई रिलिजको पहिलो हप्ताको हो ।

तर, करोड क्लबका सुपरस्टार अक्षयका अनुसार चलचित्रको सफलताको फर्मुला आजसम्म पनि कोही सँग छैन । करिब डेढ वर्षपछि भारतका सिनेमा हलहरु खुलेका हुन् । महाराष्ट्रमा हालै मात्र हल खोल्ने अनुमति मिलेको हो ।

यस्तोमा अक्षयको ‘सूर्यवंशी’ पहिलो ठूलो बजेट र स्टारकास्टको चलचित्र हो जसले दर्शकलाई पुनः एकपटक हलमा बोलाउने जिम्मा उठाएको थियो । यसअघि पनि अक्षयको ‘बेलबटम’ले यो प्रयास गरेको थियो । यद्यपि, भारतका थुप्रै राज्यमा हलहरु बन्द भएका कारण प्रयास असफल रह्यो ।

‘सूर्यवंशी’ अक्षय कुमारको चलचित्र करिअरको सय करोडभन्दा धेरै कलेक्सन गर्ने १५ औं चलचित्र हो । यसअघि एयरलिफ्ट, गोल्ड, होलिडे, राउडी राठौर, हाउसफुल सीरीज, रुस्तम, जोली एल एल बी, केसरी, टोयलेट एक प्रेम कथाले सय करोड पार कमाई गरेका थिए ।

चलचित्रको सफलतामा दर्शकप्रति आभार व्यक्त गर्दै अक्षय भन्छन्, “म आफूलाई भाग्यमानी मान्छु कि दर्शकको यति धेरै माया पाइरहेको छु । यस्तो महामारीको समयमा घरबाट निस्किएर हलसम्म आउनु, टिकट किनेर परिवारसँग चलचित्र हेर्नु फेरि सुरु भएको छ । यसका लागि म दर्शकप्रति आभारी छु ।”

सो चलचित्रमा अक्षयका साथै अजय देवगन र रणवीर सिंह पनि गेस्ट अपिरियन्समा छन् । स्टार पावरबारे टिप्पणी गर्दै स्टारपावरको कुनै महत्त्व नभएको र स्क्रिप्ट अनि स्क्रिनप्लेमा वास्तविक पावर हुने बताउँछन् ।

आफ्नो चलचित्रको ३० वर्षको करिअरमा कैयौं यादगार चलचित्र दिएका अक्षय हिट फर्मूलाबारे भन्छन्, “चलचित्र सफलताको फर्मूला कोहीसँग हुन्न् । चलचित्र चल्ने कारण के होला भन्ने कसैले बताउँन सक्दैन । मेरो करिअरको हिसाबमा भन्नुपर्दा, मैले देखेको छु, स्क्रिप्ट राम्रो हुन्छ, चलचित्र राम्रो देखिन्छ, ट्रायलमा वाह–वाही हुन्छ तर चलचित्र हेर्न कुकुरसम्म पनि आउदैनन् ।”