इटालियन सिरी ए को उपाधि जितिसकेको युभेन्टस अन्तिम खेलमा रोमासँग पराजित

   १८ श्रावण २०७७, आईतवार १३:३५  

१८ साउन, रौतहट। इटालियन सिरी ए को उपाधि जितिसकेको युभेन्टस अन्तिम खेलमा रोमासँग ३-१ ले पराजित भएको छ । पहिले अग्रता युभेन्टसले लिएपनि रोमाले आफ्नो प्रतिभा देखाउदै जितेको हो ।

यसअघि नै उपाधि पक्का गर्दै लगातार नवौं पटक च्याम्पियन बनिसकेको युभेन्ट्सले घरेलु मैदानमा गोन्जालो हिगवेनको गोलमार्फत खेलको पाँचौ मिनेटमै अग्रता दिलाएका थिए । तर युभेन्टसले उक्त अग्रता जोगाउन सकेन भने रोमाले उत्कृष्ट पुनरागमन गर्‍यो ।

२३औं मिनेटमा निकोला कालिनिकले रोमाको लागि बराबरी गोल फर्काए । ४४औं मिनेटमा डिएगो पेरेट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । ५२औं मिनेटमा पेरेट्टीले नै व्यक्तिगत दोस्रो गोल गरेपछि रोमाले ३-१ को अग्रता बनायो। त्यसपछि गोल भएन र रोमा विजयी भयो ।

पराजित भएपनि युभेन्ट्सले घरेलु मैदान सिरी ए को ट्रफी उचालेको थियो ।यस्तै दोस्रो स्थानको इन्टरले तेस्रो स्थानको एटलान्टालाई २-० ले पराजित गर्दै लिगमा सुखद अन्तय गरेको छ । इन्टरका लागि खेलको पहिलो मिनेटमै डानिलो डि एम्ब्रोसिओ र २०औं मिनेटमा एस्ले योङले गोल गरे ।

अर्को खेलमा नापोलीले लाजियोलाई ३-१ ले हरायो । नापोलीका लागि नवौं मिनेटमा फाबियनले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै २२औं मिनेटमा सिरो इम्मोबाइलले लाजियोको लागि बराबरी गोल फर्काए । लरेन्जो इनसिग्नेले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नापोलीलाई २-१ को अग्रता दिलाए । अन्तिम समयमा माटेओ पोलिटानोले गोल गरेपछि नापोलीले ३-१ को जित हात पारेको हो ।

लाजियोका इम्मोबाइल ३५ गोल गर्दै सिरी ए को सर्वाधिक गोलकर्ता बनेका छन् । उनले तेस्रो पटक सिरी ए को गोल्डेन बुट जितेका छन् । यस्तै युरवपको लिगभर सर्वाधिक गोल गर्दै युरोपियन गोल्डेन बुटको अवार्ड पहिलो पटक जित्न सफल भएका छन् ।