१३ कात्तिक, रौतहट । टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले जारी विश्वकपमा लगातार तेस्रो जित निकालेको हो।
टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ६ बल बाँकी छँदा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।
सुरुवाती ब्याटिङमा उत्रिएको अफगानिस्तानका लागि मोहम्मद नाबी र गुल्बादिन नाइबले ३५/३५ रन बनाउँदा नजिबुल्लाह जर्दानले २२, करिम जनतले १५ तथा रहमानुल्लाह गुर्बाज र अस्घर अफगानले समान १०/१० रन जोडे।
बलिङतर्फ पाकिस्तानका इमाद वसिमले २ विकेट लिँदा शहीन अफ्रिदी, ह्यारिस राउफ, हसन अली र शदाब खानले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५१ रन बनाउँदा फखर जमनले ३०, असिफ अलीले २५, सोयब मलिकले १९ र मोहम्मद हाफिजले १० रन जोडे।
अफगानिस्तानका रासिद खानले २ तथा मुजीब उर रहमान, मोहम्मद नाबी र नविन उल हकले समान १/१ विकेट लिए।