प्रचण्डले भने, नेकपामा पदका लागि विवाद बिल्कुलै होइन् ।
साउन १७, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले नेकपामा पदका लागि विवाद नरहेको बताएका छन् । तुलसीलाम आमात्यको स्मृतिमा आयोजित एक कार्यक्रममा उनले भने, ‘पार्टीमा पदको लागि झिनाझिप्टी बिल्कुलै होइन, पार्टीको विचार र पद्दतीलाई कसरी अगाडी बढाउने विषयमा बहस भइरहेको हो ।’
पदभन्दा ठूलो कुरा जनताको सेवा नै भएको जिकिर गर्दै उनले राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र जनतालाई सेवा गर्ने मुख्य उद्देश्यका साथ पार्टीका विचार र पद्दतीको विषयमा छलफल भइरहेको उनले दाबी गरे ।
उनले भने, ‘अस्थिरता झल्किने कुनै पनि काम नहोस् भनेर त्याग गरेर आएका नेता हामी हौँ । त्यसैले पदका लागि हामी कहिले झगडा गर्दैनौँ । विचार र पद्दतीको पालना कसरी हुन्छ, त्यसका लागि छलफल भइरहेको छ ।’
ठूलो योगदान र बलिदानबाट पार्टी एकता भएको र त्यसलाई रक्षा गर्न आन्तरिक संघर्ष चलिरहेको बताउँदै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढ गर्नु नै मुख्य चिन्ता रहेको बताए ।