चीनबाट खरिद गरिएको भेरोसेर खोप काठमाडौँ आइपुग्यो
१० कात्तिक, रौतहट । चीनबाट आज थप १० लाख २० हजार डोज कोरोना विरुद्धको भेरोसेल खोप काठमाडौँ आइपुगेको छ ।
नेपाल सरकारले कोभ्याक्ससँगको कस्ट सेयरिङ योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज मध्येबाट बुधबार विहान पहिलो लटमा १० लाख २० हजार भेरोसेल खोप बिहान नेपाल आइपुगेको स्रोतले जनाएको छ । स्रोतका अनुसार चीनबाट आएको भेरोसेल खोप टेकुस्थित भण्डारणमा राखिने व्यवस्था गरिएको छ ।
हालसम्म नेपालले कुल १ करोड ५३ लाख ४२ हजार एक सय ९८ डोज खोप लगाइसकेको छ, भने हालसम्म नेपालले कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप खरिद गरेको छ ।
यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।