भारत र पाकिस्तानबीच भएका क्रिकेट खेलको रोमाञ्चक कथा

   ७ कार्तिक २०७८, आईतवार १०:५५  

सन् २०११ मार्च महिनाको ३० तारिख ।

चण्डीगढ विमानस्थलमा बिहानको ६ बजेदेखि सबै व्यावसायिक उडानको आवागमनमा रोक लगाइएको थियो। आकाशमा सुर्खोई-३० लडाकु विमानहरूले चक्कर लगाइरहेका थिए।

सहरका सबै चोकमा प्रहरी र अरू सुरक्षाकर्मी तैनाथ थिए। मोहाली क्रिकेट रङ्गशाला सम्भवतः पहिलो पटक सैन्य छाउनीजस्तो बनेको थियो।

माहोल नै त्यस्तै थियो। एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनल। त्यो पनि भारत र पाकिस्तानबीच । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तामा इस्लामाबादबाट पाकिस्तानका प्रधानमन्त्री यूसुफ गिलानी खेल हेर्न र सिहंसँग भेटघाट गर्न त्यहाँ आउँदै थिए।

सन् २००७ को टी-ट्वेन्टी विश्वकपको उपाधि हात पार्न दुई देशबीच भएको खेलको सम्झना ताजै थियो। किनभने भारतले प्रतियोगिता जितेर उपाधि आफ्नो पोल्टामा पारेको थियो।

मोहालीको खेलबारे रिपोर्ट गर्ने पत्रकारहरूमा पनि एक किसिमको तनाव थियो। एक त यति ठूलो प्रतिस्पर्धा, त्यसमाथि कूटनीतिक गतिविधिबारे पनि समाचार बनाउनुपर्ने अवस्था।

क्वार्टरफाइनलमा भारतले बलियो अस्ट्रेलियाली टोलीलाई हराएको थियो र गुजरातको मोटेरा रङ्गशालाबाट त्यो खेलको समाचार सम्प्रेषण गरिरहेका साथी मुकेश शर्माले फोनमा भनेका थिए, “अब हेर मोहालीमा सिलसिला जारी रहोस्।”

बीबीसी हिन्दीको डेस्कमा कभरेजको नेतृत्व पङ्कज प्रियदर्शी र वन्दनाको हातमा थियो। “ताजा जानकारी दिन कदापि नछोड्नू,” एक जनाले भने।

क्रिकेट

विश्वका सबै प्रख्यात क्रिकेट संवाददाता यो खेलबारे समाचार सम्प्रेषण गर्न पुगिसकेका थिए।

सचिन तेन्दुलकरको यो अन्तिम विश्वकप थियो र युवराज सिंहदेखि विराट कोहली र गौतम गम्भीरले भनिसकेका थिए: यसपालि सचिनका लागि उपाधि जित्नु छ।

खेलअघि पाकिस्तानका कप्तान शाहिद अफ्रिदीले भनेका थिए, “प्रतिस्पर्धामा हामी पनि ज्यान लगाउनेछौँ।” भारतले पहिले ब्याटिङ गर्दै सचिनको ८५ रनको योगदानका कारण सात विकेट गुमाएर २६० रन बनाएको थियो। त्यो खेलमा सचिन भाग्यमानी पनि भए किनभने पाकिस्तानी फील्डरहरूले चार पटक उनको क्याच छोडे।

भारतका बलरहरूले निकै राम्रो प्रदर्शन गरे र पाकिस्तानलाई लक्ष्यभन्दा २९ रनअघि नै पेभिलियन फर्काए। जहीर खान, आशिष नेहरा, मुनाफ पटेल, हरभजन सिंह र युवराज सिंहले दुई दुई विकेट लिए।

यो हारको डेढ महिनापछि पाकिस्तानका कप्तान अफ्रिदीलाई कप्तानको भूमिकाबाट हटाइयो र उनले संन्यासको घोषणा गरे। सचिनले पनि यो विश्वकपपश्चात् एकदिवसीय क्रिकेटबाट संन्यास लिए।

क्रिकेट

२०१२, टी-२० विश्वकप – श्रीलङ्का

पछिल्लो प्रतिस्पर्धाको अर्को वर्ष दुवै टोलीको भिडन्त श्रीलङ्कामा आयोजना गरिएको टी-२० विश्वकपको समूह चरणको खेलमा भयो।

कोलम्बोस्थित प्रेमदासा रङ्गशाला भरिभराउ थियो। सहरभरि बिहानैदेखि सडकमा जाम हुन सुरु भएको थियो। करिब डेढ किलोमिटर पैदल हिँडेपछि मात्रै दर्शक र सञ्चारकर्मीहरू रङ्गशालासम्म पुग्न सक्थे।

खेलको एक दिनअघि भारतीय टोलीले कोलम्बोको अर्को रङ्गशाला ‘पी सारा ओभल’ मा अभ्यास गरेको थियो।

त्यहाँ वीरेन्द्र सहवाग नदेखिएकाले केही तनाव देखिएको थियो। कैयौँ पूर्वखेलाडीहरूले गम्भीर रोगको उपचार गराएर टोलीमा फर्किएका युवराज सिंहको तन्दुरुस्तीमाथि पनि प्रश्न उठाएका थिए।

पूरै प्रतियोगितामा यसअघिको विश्वकपमा देखिएको अवस्था भारतीय टोलीमा मैले देखिनँ। तर भारत-पाकिस्तानबीचको खेल असाधारण हुन्छ । खेलको अघिल्लो दिन प्रतियोगिता कभर गर्न पुगेका सबै पत्रकारलाई तात्कालिक राष्ट्रपति महिन्द राजपक्षको निवासमा रात्रिकालीन भोजका लागि निमन्त्रणा गरिएको थियो।

पाकिस्तानी टोलीका पूर्वब्याट्सम्यान र तात्कालिक पीसीबी अध्यक्ष रमीज राजा पनि त्यहाँ उपस्थित थिए। कुराकानीको क्रममा उनले भने, “यसपालि टोलीको बलिङका साथै ब्याटिङमा पनि ध्यान दिनु होला, म्याच विनर छ। इमरान नजीर, कप्तान मोहम्मद हफीज र नासिर जमशेद यही फर्म्याटका नामुद खेलाडी हुन्।”

तर खेलमा यी तीनै खेलाडी खासै चल्न सकेनन् र पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १७ ओभरमै पूरा गर्‍यो। विराट कोहली ७८ रन बनाएर म्यान अफ द म्याच बने।

क्रिकेट

२०१५, एकदिवसीय विश्वकप – अस्ट्रेलिया

भारत-पाकिस्तानबीचको खेलले ल्याउने उमङ्गबारे खेल आयोजकहरूमा पनि विश्वस्त हुन्छन्।

अस्ट्रेलियामा भएको विश्वकपको पहिलो खेलमा यी दुई देश एकअर्कासँग भिडे। सर डन ब्र्याडम्यानको सहर एडिलेडमा दुनियाँभरिका समर्थकहरू पुगेका थिए र त्यहाँको माहोल कुनै उत्सवको जस्तै थियो।

सहरको सेन्ट्रल बिजनेस डिस्ट्रिक्ट भएको जुन स्थानमा हामी बसेका थियौँ। त्यहाँका बासिन्दाहरूले यसअघि सायदै रातको १२ बजे सडकमा ‘चक दे इन्डिया’को गीतमा मानिसहरू नाचेको देखेका थिए होला।

पाकिस्तानका समर्थहरू पनि अमेरिका र दुबई लगायतका सहरबाट आइपुगेका थिए र सडकछेउका बार-रेस्टुराँमा बिहानैदेखि माहोल बन्न सुरु हुन्थ्यो । अस्ट्रेलियामा क्रिकेट कभर गर्नुको बेग्लै आनन्द छ । टोलीहरूले अलगअलग मैदानमा नेट प्र्याक्टिस गर्छन् जहाँ खेलाडीहरूलाई नजिकबाट चिन्ने र बुझ्ने मौका मिल्छ। अनि अघिल्लो रणनीति पनि बुझ्न सकिन्छ।

त्यतिबेला जुन किसिमको स्थिति थियो त्यसमा भारतले टस जितेको अवस्थामा पहिले ब्याटिङ गर्ने सोच अघि नै बनाएको थियो होला। ठूलो लक्ष्य बनाउनुपर्ने थियो।

विराट कोहलीले शतक र शिखर धवनले मैदानमा दिएको साथपश्चात् पाकिस्तानसमक्ष भारतले ३०१ रनको लक्ष्य दियो। यसमा भारतीय बलरहरू खासगरी मोहम्मद शमीको तारिफ गर्नुपर्ने हुन्छ जसले चार विकेट लिए र पाकिस्तानलाई २२४ रनमा समेट्न सहयोग गरे।

क्रिकेट

२०१६, टी२० विश्वकप – भारत

आईपीएलको आरम्भ र लोकप्रियता भारतबाटै सुरु भएर बढेको भए पनि उसले २०-२० विश्वकप पहिले कहिल्यै आयोजना गरेको थिएन।

त्यसैले जब भारतमा प्रतियोगिता हुने भयो जितको आशाका साथै भारत र पाकिस्तानका प्रशंसकहरूबीच आपसी भिडन्तको पनि पर्खाइ थियो।

समूह १० को खेलमा दुई देशबीचको खेल ऐतिहासिक इडन गार्डेन रङ्गशालामा हुन लागेको थियो। भारतीय टोलीका पूर्वकप्तान सौरभ गाङ्गुली पश्चिम बङ्गाल क्रिकेट प्रशासनसँग जोडिइसकेका थिए र यो खेलसँग जोडिएका तयारीहरूको जिम्मेवारी उनैको हातमा थियो।

क्रिकेट

इडन गार्डनमा ‘दादा’ अर्थात् गाङ्गुलीको अर्कै मान छ।

खेलको एक दिनअघि दुवै टोली मैदानको दुइटा कुनामा नेट प्र्याक्टिस गरिरहेका थिए । त्यसै बेला गाङ्गुली रातो रङ्गको मर्सिडिज कार आफैँ चलाएर रङ्गशालाको बाहिरी भागमा देखा परे। नेट प्र्याक्टिस हेरिरहेका करिब डेढ सय दर्शक उनीसँग सेल्फी खिच्नका लागि दौडिए।

कमेन्ट्री टोलीका सदस्यहरू वसीम अकरम, रमीज राजा, हर्ष भोगले पनि उनीसँगै मैदानमा आए र सबै खेलाडीसँग भेटघाट गरे। विराट कोहली र रोहित शर्माले धेरै समयसम्म पिचको निरीक्षण गरे।

खेल सुरु हुनुअघि अभिनेता अमिताभ बच्चनले एक लाख दर्शकसँगै राष्ट्रिय गान गाए। सचिन तेन्दुलकरसहित रङ्गशालामा उपस्थित सबैले सुर मिलाएका थिए। पानी परेका कारण खेल छोट्ट्याएर १८-१८ ओभरको बनाइएको थियो। पाकिस्तानले पहिले ब्याटिङ गर्दै भारतलाई ११९ रनको लक्ष्य दियो।

यसपालि पनि कोहलीले विस्फोटक पारी खेलेर ३७ बलमा ५५ रन बनाए। भारतले दुई ओभर बाँकी रहँदै लक्ष्य हात पार्‍यो। विराट कोहली फेरि म्यान अफ द म्याच बने।

बिबिसी नेपालीबाट

तस्बिर स्रोत, Getty Images