एन्डोरामाथि इंग्ल्यान्डको सानदार जित
२४ असोज, रौतहट । फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले एन्डोरामाथि सानदार जित निकालेको छ । एन्डोरामा शनिबार राति भएको खेलमा इंग्ल्यान्डले एन्डोरामाथि ५–० को फराकिलो जित निकालेको हो ।
इंग्ल्यान्डका लागि बेन चिलवेल, बुकायो साका, ट्याम्मी अब्राहम, जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले समान एक गोल गरे । इंग्ल्यान्डले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा ३ गोल गरेको हो ।
खेलको १७औं मिनेटमा बेन चिलवेलको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता लिएको थियो । उनले जाडोन सान्चोको पासमा गोल गरेका थिए । ४०औं मिनेटमा फिल फोडेनको पासमा बुकायो साकाले गोल गरे ।
५९औं मिनेटमा सान्चोको पासमा ट्याम्मी अब्राहमले गोल गरे, ७९औं मिनेटमा जेम्स वार्ड प्रोजले पेनाल्टी चुकाएपनि रिवाउन्डमा गोल गरे र ८६औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ५–० को फराकिलो जित दिलाए ।
यो जितपछि समूह ‘आई’ मा अपराजित रहेको इंग्ल्यान्ड ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित एन्डोरा ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।