दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिले आज जारी गर्ने
२ भदौं, रौतहट । मन्त्रिपरिषदले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गर्ने तयारी गरेकी छिन् । हिजो मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश राष्ट्रपति समक्ष पुगेको र त्यसलाई आजै जारी गर्ने तयारीमा राष्ट्रपति रहेकी हुन् ।
शीतल निवासले सरकारले सिफारिस गरिसकेपछि प्रक्रियाअनुसार अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै अध्यादेश जारी गर्ने निष्कर्ष निकालेको हो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।
सरकारले ल्याएको यो अध्यादेशले माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई समेत राहत मिल्नेछ भने दुबै समूह अहिले राष्ट्रपति कार्यालयको निर्णयको प्रतिक्षामा रहेको छ ।






