क्रान्ति भनेको के हो र क्रान्तिकारिता कसरी निर्माण हुन्छ भन्ने ब्यबहारबाट देखाउन सफल र अत्यन्त निष्ठावान व्यक्तित्वको नाम हो बर्मन बुढा । जीवनको सम्पूर्ण समय क्रान्तिकारिता निर्माणका लागि बिताएका बर्मनको ९० बर्षको उमेरमा बुधबार निधन भयो ।
नेपालमा क्रान्तिकारिता कसरी विकास भयो र मान्छे किन बिद्रोहमा लाग्छ भन्ने थाहा पाउने हो भने सबैले बर्मन बुढाहरुको जीवनी पढ्न, मनन गर्न र राजनीतिक व्यवहारमा उतारेर हेर्न आवश्यक छ ।
तर, आधुनिक शिक्षा र लेखन पढनबाट टाढा रहेका बर्मनहरुको क्रान्तिकारी र साहसिक यात्रा अबको पुस्ताका लागि एकादेशको दन्त्य कथाभन्दा फरक हुने छैन । कथाजस्तै लाग्ने बर्मन बुढाको राजनीतिक यात्रा कठिन थियो । तर, चमत्कारिक पनि थियो ।
मानिसहरुमा क्रान्तिकारिता दुई ढंगले विकास हुन्छ । पढे लेखेका बर्गमा विकसित हुने राजनीतिक चेतना पहिलोखाले क्रान्तिकारिता हो । यसमा क्रान्तिका बारेमा पढेर, अरुबाट प्रशिक्षित भएर र न्यायोचित समाजको निर्माण गर्न नयाँ राजनीतिक परिवर्तन चाहिन्छ भन्ने विचारअनुसार त्यस्तो परिवर्तनको नेतृत्व गर्नुपर्छ भन्ने भावनाको विकास भएको हुन्छ । यस्ता क्रान्तिकारीहरु राजनीतिलाई आफ्नो पेशा ठान्छन र अरुको मुक्तिका लागि आफ्नो उच्च सुझबुझलाई प्रयोग गरी आफूले बलिदान दिएको ठान्छन् ।
नेपालका अधिकांश राजनीतिक नेताहरुले यही पृष्ठभूमिबाट क्रान्तिकारी लाइन समातेका हुन् । तत्कालीन माओवादीको कुरा गर्ने हो भने प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरु योखाले क्रान्तिकारिताबाट आएका हुन् । उनीहरुले पहिले माओवादी सिद्धान्त पढे, अनि त्यहीअनुसार व्यवहारमा लागु गर्न राजनीतिक परिवर्तनको कुरा निकाले ।
दोस्रो, व्यवहारमै अन्याय र अत्याचार भोगेका र राजनीति भनेको आफैलाई परेको र आफ्नो समाजले भोगेको त्यस्तो अन्याय र अत्याचारको अन्त्य गर्नु हो भन्ने बुझाइबाट विकसित हुने राजनीतिक सचेतना दोस्रोखाले क्रान्तिकारिता विकास हुने तरिका हो । बर्मन बुढाहरु यो खाले क्रान्तिकारी हुन्, जसले पहिला सिद्धान्त पढेनन् र ठूला राजनीतिक परिवर्तन गरेर नेताका रुपमा स्थापित हुने सपना कहिल्यै देखेनन् । समाजका कठिनाइ अन्त्य गर्नुलाई नै राजनीति ठाने ।
२० बर्षे उमेर हुँदा नहुँदै गाउँमा भएका मुखियाको अन्याय र सरकारी थिचोमिचोबाट कसरी बच्ने होला भनेर आफ्ना साथीभाइहरुसँग भेडीगोठमा बसेर छलफल गर्ने क्रममै बर्मन बुढाहरु क्रान्तिकारी बनेका हुन् ।
ब्यवहारिक रुपमा अन्याय अत्याचारको अन्त्य गर्ने उपायको खोजी गर्ने क्रममा उनीहरुसँग पहिलोखाले क्रान्तिकारीहरु भेटिन थाले र सिद्धान्तहरु थाहा पाउन थाले । तर, सिद्धान्तका पाठभन्दा जनताको दैनिक जीवनमा ल्याउनुपर्ने परिवर्तनमा सधंै जोड दिए, जसका कारण आफूलाई काम नलाग्ने सिद्धान्त र पार्टीहरु फेर्न कुनै अप्ठ्यारो मानेनन् । जनताका दैनिकीबाट सिद्धान्त कोर्ने कुरामा मात्रै विश्वास गरे ।
पहिलो संविधान सभाको चुनाव लगत्तै मसँग बर्मन बुढा भन्दै थिए ‘थबाङ्ग खास किसिमको परिवर्तन चाहन्छ, कुनैखाले अन्याय र अत्याचार सहँदैन, परिवर्तन बिरोधीसँग मिलिँदैन, त्यसका लागि कुनै पार्टी छाड्नु परे वा कुनै सिद्धान्त त्याग्नु परे पनि हामीलाई खास समस्या हुँदैन । इतिहासमा धेरैचोटि त्यस्तो गरियो ।’
बर्मन कुनै कोरा नाराका लागि होइन, खास परिवर्तनका लागि राजनीति गर्नु नै क्रान्तिकारिता हो भन्नेमा विश्वास गर्थे ।
आफ्नो र समाजको दैनिकीका रुपमा अन्यायको बिरुद्धमा लडाइँ लड्ने क्रममा दोस्रोखाले क्रान्तिकारीहरु विभिन्न तरिकाले राजनीतिको मुख्य धारमा आइपुगेका हुन्छन् । गाउँका मुखियाको हेपाइका विरुद्ध लड्ने क्रममा बर्मन क्रान्तिकारी बने र थबाङ क्रान्तिकारी थलो बन्न पुग्यो । देशमा कोही कमैया र कमलरीको दासताबाट मुक्त हुने लडाइँ लड्ने क्रममा क्रान्तिकारी बने, कोही जातीय छुवाछुतबाट पिल्सिने क्रममा त कोही साहुको ऋण र महाजनको शोषणबाट उन्मुक्ति पाउन बिद्रोहमा लागे ।
यिनीहरुले कुनै सिद्धान्त पहिला पढेनन् । पहिला सिद्धान्तका आधारमा क्रान्तिकारी बनेर त्यसपछि विद्रोह गरेका होइनन् । यिनीहरुले क्रान्तिकारी हुने क्रममा न माओ सुनेका थिए न मार्क्स पढेका थिए । अन्यायमा पिल्सिएका थिए र मुक्ति चाहन्थे । जीवनको दैनिकी नै क्रान्तिकारिता बन्यो । बर्मन बुढा यस्ताखाले क्रान्तिकारीहरुको प्रतीक हुन्, जसले राजनीतिलाई पेशा ठानेन बरु जीवन दर्शन मान्यो ।
थवाङ इतिहास कालदेखि नै बिद्रोहमा थियो । केन्द्रीय राज्य सत्ताको हालीमुहाली कहिल्यै स्वीकारेको थिएन । राज्यको अधीनमा राख्न र तिरो नियमित तिराउन अनेकौं तिकडम हुने गरेका थिए । तर, २००७ सालको ‘प्रजातन्त्र’ पछि भने थवाङले कठिन दमनहरु सहनुपरेको थियो । २००७ साको परिवर्तनपछिको केही बर्षमा नै नेपाली कांग्रेसको गतिविधि धेरै बढेर गएको थियो । जिल्लाका फट्याइँ गर्नेहरु र मुखियाहरु कांग्रेस बन्ने क्रम बढेको थियो । त्यही माहौलमा तरुण दल बनेर नयाँ मुखिया थबाङमा स्थापित भए ।
नयाँ मुखियाले अनेकौं धरपकड गर्न थाले । गाउँलाई सफा राख्ने भनेर किसानका सुँगुरहरु मार्न थाले । नयाँ तिरो उठाउन थाले । मुखियाको जग्गा जमिनमा काम गर्न जानुपर्ने नियम ल्याए । बर्मन बुढाहरुलाई असैह्य भयो । लेकको भेडी गोठमा युवाहरु जम्मा गरेर मुखियालाई तह लगाउने उपायहरु खोज्न थाले ।
राति नै गएर नयाँ मुखियाको घरमा आक्रमण गरे र गाउँ छाडेर जान उर्दी लगाए । सरकारी दमन बढेर गयो र बर्मन लगायतका युवाहरु जेल परे ।
प्युठान जेलमा रहँदा मोहनबिक्रम सिंह र कालुमान गुरुङ जस्ता सिद्धान्त सिकेका कम्युनिस्ट युवाहरु भेट भए । मुखियाको शोषण, सरकारी दमनलगायतका कुरामा बहस भए । कम्युनिस्ट पार्टीको सिद्धान्त आफ्नो गाउँको पनि मुक्तिको बाटो हुन सक्छ भन्ने देखे । र, जेलबाट छुटेपछि गाउँमा किसान संगठन खोले । कम्युनिस्ट पार्टीको सदस्य बने । सबै किसानहरुलाई संगठित गरे र थबाङलाई बिद्रोहीहरुको गाउँका रुपमा स्थापित गरे।
लगत्तै, मुखियाको सत्ता कब्जा गरे । त्यसको नेतृत्व आफैं गरे । कतिपय किसानलाई जग्गा वितरण गरे। तिरो तिर्नै बन्द गराइदिए केही समयका लागि । बिद्रोह बढेर गयो । उता राज्यको दमन झन् बढेर गयो । २०१५ सालको चुनावमा थवाङको सबै भोट कम्युनिस्ट पार्टीलाई खसाए । तर, त्यसपछिका पञ्चायतकालीन चुनावहरु सबैजसो बहिस्कार गराए ।
विसं. २०३० सालतिर गाँजा खेती नियन्त्रण गर्ने नाममा गाउँमा पुलिस राखियो । ठूलो दमन भयो, जसका कारण नयाँ ढंगले महिलाको नेतृत्वमा विद्रोह सुरु हुन थाल्यो । २०३८ सालको चुनाव पूर्णरुपमा बहिस्कार गरिदिए, जसको कारण बर्मन फेरि जेल परे।
थबाङको बिद्रोह कम गराउन राजा बीरेन्द्र समेतले भ्रमण गरे । तर, बिद्रोह रोकिएन ।
थबाङले कम्युनिस्ट पार्टीमा समेत धेरैपटक बिद्रोह गर्यो । नयाँ पार्टी बनाउने काममा सधै सरिक भयो। पछिल्लो चरणमा माओवादी विद्रोहसँग आफ्नो बिद्रोहको तालमेल देख्यो । लट्ठी लिएर गाउँ घुम्ने गाउँ सुरक्षा दस्ता निर्माण गर्दै सशस्त्र सेना बनाएर माओवादी आन्दोलनको केन्द्र बनेर थबाङ होमियो । माओवादी आन्दोलन हुनुभन्दा पहिले नै थबाङ राज्यबाट टाढा मात्रै होइन एक ढंगले मुक्त नै भैसकेको थियो ।
जब गिरिजाप्रसाद कोइरालाको सरकारले किलो सेरा टु नाम गरेको पुलिस दमन सुरु गर्यो, तब परिस्थितिले नयाँ मोड लियो । बर्मन भन्थे ‘यदि किलो सेरा टु नलागेको भए त्यो ढंगको बिद्रोह त्यति छिटो बढ्ने सम्भावना थिएन ।’ लुटपाट, कुटपिट, धरपकड, बलात्कार, झूठा मुद्धाका कारण रोल्पा रुकुम पुरै नै आहत बनेको थियो । एकजनालाई ३२ वटासम्म झुट्टा मुद्दा लगाइएका थिए ।
बर्मन भन्थे ‘२००७ सालपछि पनि कांग्रेसको अहमले थबाङमा बिद्रोह जन्मियो २०४६ सालपछि पनि कांग्रेसकै दमनले जनता क्रान्तिमा होमिए ।’
बर्मन दमन बिरुद्धको बिद्रोहलाई क्रान्ति ठान्थे र त्यस्तो क्रान्तिमा मात्रै जनता समाहित हुन्छन् भन्ने उनको बुझाइ थियो ।
बर्मन बुढाहरुको यो बिशाल इतिहास र संघर्षको पृष्ठभूमिमा मात्रै माओवादी बिद्रोहले फैलिने मौका पाएको हो । बर्मनहरुको त्याग र व्यवहारिक क्रान्तिकारिता हुँदैनथ्यो भने प्रचण्डहरु अहिले पनि क्रान्तिका कोठेगफ गरेर क्रान्तिकारिता देखाइरहेका हुने थिए । यस्तो व्यवहारिक क्रान्तिकारीलाई इटालियन दार्शनिक एन्टोनियो ग्राम्सीले आधारभूत बिद्रोही अर्थात् अर्ग्यानिक इण्टेलेक्चुअल भनेका छन् । यस्ता बिद्रोहीहरु आफ्नो समाजको वास्तविक अवस्थाको पहिचान गरी राजनीतिक क्रान्तिकारिता निर्माण गर्ने बाहक हुन्।
बर्मन बुढाको देहावसान भएको छ । तर, बर्मनले आउँदो पुस्ताका लागि ठूला विद्रोहको पाठ सिकाएर गएका छन् ।
क्रान्तिकारीहरु विविधखाले हुन्छन । कुन क्रान्तिकारी कुनबेला जनताको पक्षमा हुन्छ भन्ने सिकाइ बर्मन बुढाको राजनीतिक इतिहासबाट लिन सकिन्छ । बर्मनहरु आधारभूत क्रान्तिकारिताको एउटा युग हुन् र अहिले यो युगको अन्त्य भएको छ ।
तर, बर्मनले धेरै सिकाइ छाडेर गएका छन् । पहिलो सिकाइ भनेको पढेलेखेका, शहरिया र पेशेवर क्रान्तिकारीहरु सधैं राजनीतिक नेतृत्व लिन तँछाड मछाड गर्छन् र राजनीतिक परिवर्तनपछि आफू केन्द्रित राज्य प्रणाली होस् भन्ने चाहन्छन् । त्यसबेला बर्मनजस्ता आधारभूत क्रान्तिकारीहरु विस्थापित हुन्छन् । राजनीतिक फाइदा हुने बेलामा मात्रै बर्मनहरु पुनः प्रयोग हुन्छन् । राजनीतिक परिवर्तनपछि धेरै बर्मनहरु ओझेलमा पर्छन् र उनीहरुको व्यवहारिक क्रान्तिकारिताको आवश्यकता महसुस गरिँदैन ।
दोश्रो सिकाइ भन्नाले आधारभूत क्रान्तिकारीहरुबिना कुनै पनि राजनीतिक परिवर्तन सम्भव हुँदैन । आधारभूत क्रान्तिकारीहरुले मात्रै दमनकारी शक्तिको जरो हल्लाउन सक्छन् । यस्ता आधारभूत समुदायको परिचालनबिना ल्याइएको राजनीतिक परिवर्तन जनतासम्म पुग्न सक्दैन, त्यस्तो राजनीतिक परिवर्तन पेशेवर क्रान्तिकारीहरुसम्म मात्रै आइपुग्छ ।
एउटा क्रान्तिकारी कसरी निर्माण हुँदोरहेछ र आधारभूतरुपमा परिवर्तनको बाहक बन्ने रहेछ भन्ने सिकाइ सिक्ने इतिहास बर्मन बुढा हुन् ।
राजनीतिशास्त्रीहरुका लागि एउटा चुनौती पनि हुन् बर्मन बुढा ।