आजदेखि नि:शुल्क इ-सिम वितरण गर्दै नेपाल टेलिकम

   ३१ भाद्र २०७९, शुक्रबार १३:०७  

३१ भदौँ, रौतहट । नेपाल टेलिकमले नि:शुल्क इ-सिम आजबाट वितरण गर्ने भएको छ ।

इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले नयाँ प्रविधिको सिम प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई नि:शुल्क इ-सिम वितरण गर्न लागेको हो । इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनुपर्ने छ ।

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई नि:शुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ ।
त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ।

हालका सबै प्रयोगकर्ताले समेत इ-सिम प्रयोग गर्न सक्ने र नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले इ-सिम लिन पाउने छन् ।