चीनबाट स्वास्थ्य सामाग्री सहयोग
३० जेठ, रौतहट । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई चीनको एक शहरले स्वास्थ्य उपकरणहरू प्रदान गरेको छ ।
चीनको तिब्बतस्थित शान्नान सहरले ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । तातोपानी नाकामार्फत पठाइएको उक्त सामाग्रीहरु हाल भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा राखिएको छ ।
संसार भरी फैलिएको कोरोना माहामारीका संक्रमित नेपालमा पनि तीव्र गतिमा बढेसँगै भक्तपुरमा यस रोगको प्रभावबारे चासो लिई शान्नान नगरपालिकाले चिन्ता व्यक्त गर्दै पत्राचार गरेको थियो ।
संक्रमण दर तीव्र रुपमा बढिरहेको र संक्रमितहरुको उपचारमा अक्सिजन, भेन्टिलेटर र अक्सिजन सिलिन्डर अभाव भएकाले व्यवस्था गर्न सकिए कोरोना रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्ने जानकारी भक्तपुर नगरले गराएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा संकट परेको बेला छिमेकी मित्र देशको तर्फबाट भएको सहयोगको लागि धन्यवाद दिएका छन् ।






