जसपाकै अर्को समूह अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई सरकारको विपक्षमा छन्। सरकारमा सहभागी भए पार्टी एक नरहने यादव समूहको चेतावनी ठाकुर-महतोले लत्याउँदै आएका छन ।
पार्टी फुटाएर भए पनि सरकारमा
पार्टीको विवाद उत्कर्षमा पुगिरहेका बेला जसपाको ठाकुर पक्ष सरकारमा जान लागेको हो । जसपाका नेताहरु राजनीतिक रुपमा विभाजित छन । दुबै समूहले एक अर्कालाई पार्टीबाट निष्कासनको तयारीस्वरुप शनिबार स्पष्टीकण सोधेका थिए। सोमबार बालुवाटारमा जसपाका ठाकुर-महतोले सरकारमा सहाभागी हुनका लागि गृहसहितको मन्त्रालयमा दाबी गरेको बालुवाटार निकट स्रोतले बताएको छ ।
कुन-कुन मन्त्रालयमा गर्दैछ जसपाले दाबी?
जसपाका एक नेताका अनुसार बालुवाटारमा भएको सोमबारको वार्तामा ८ मन्त्री र २ राज्य मन्त्री सरकारमा जानेबारेमा सहमति भएको छ। जसपाले संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा कि शरतसिंह भण्डारी नेतृत्वमा सरकारमा जाने भन्नेबारेमा भन्ने टुंगो लागइसकेको छैन ।
‘भण्डारीले नेतृत्व गर्ने कि भन्ने पनि छ । त्यो सँगै संसदीय दलको नेताको हिसाबले महतोजी पनि अगाडि हुनुहुन्छ,’ उनले भने।
जसपाले गृहसहितका मन्त्रालयमा दाबी गरेको छ । यद्यपि गृह मन्त्रालय नपाए पनि अरु मन्त्रालयमा पनि सहमति गरेर सरकारमा जाने ती नेताले बताए । भोलि नै मन्त्रिपरिषद् विस्तार हुने र जसपा सरकारमा जाने ठाकुर निकट स्रोतले बताएको छ।
मन्त्री बन्न कसको नाम चर्चामा?
सरकारमा सहभागी हुनका लागि तीव्र तयारी गरेको जसपाले मन्त्रीको नाम भने टुंगो लगाइसकेको छैन। मन्त्री हुने आकांक्षी नेताहरुको संख्या धेरै भएकाले टुंगो नलागेको हो । जसपाभित्रको राजपा समूहका शीर्ष नेताहरु नै सरकारमा सहभागी हुने सम्भावना भए पनि युवा नेताहरुलाई स्थान दिनुपर्ने जसपाभित्र चर्को दबाव छ । स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुर बाहेकका शीर्ष नेताहरु मन्त्रीका लागि चर्चामा छन ।
राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव, विमल श्रीवास्तव, एकवाल मियाँ, रामबाबु यादव, उमाशंकर अरगरिया, चन्दा चौधरीलागायतका नेता मन्त्रीका लागि चर्चामा छन ।






