महिला फुटबल टिमको प्रशिक्षक पदमा ग्यारी फिलिप्स नियुक्त
१३ फागुन, रौतहट । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ । एन्फाको टेक्निकल कमिटिले बिहीबार फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
यस अघि फिलिप्स प्राविधिक निर्देशनको रुपमा काम गरिरहेका थिए ।
गत वर्ष नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’पछि महिला टोली प्रशिक्षक विहीन छ । सागको फाइनलमा भारतसँग पराजित भएपछि मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका थिए ।
पोखरामा भएको फाइलन खेलपछि महिला टोलीले हालसम्म कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । अष्ट्रेलियन ग्यारीलाई एन्फाले ७६ साल कार्तिक १४ बाट प्राविधिक निर्देशनमा नियुक्त गरेको थियो । कोरोना महामारीका बीच घर फर्किएका उनी नयाँ सम्झौता लगत्तै गत महिना नेपाल आएका हुन् ।