राष्ट्रिय महिला लिग: चन्द्रपुरले चौदण्डीगढीलाई हरायाे
५ फागुन, राैतहट । राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै तेस्रो जित निकालेको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा चन्द्रपुरलाई जित दिलाउन रजनी थोकर र दिलकुमारी रानाले एक-एक गोल गरे।
जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ। लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ।
उता अंकको खाता खोल्न असफल चौदण्डीगढीको यो लगातार ११औं हार हो। अब चौदण्डीगढीको लिगमा एक मात्र खेल बाँकी छ।