आगामी मार्चमा हुने त्रिदेशीय क्रिकेट सिरिज स्थगित

   ३० माघ २०७७, शुक्रबार १३:४४  

३० माघ, रौतहट । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत आगामी मार्चमा हुने भनिएको नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय क्रिकेट सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै तीन देशबीचको एक दिवसीय सिरिज स्थगित भएको जानकारी दिएका हुन् ।

यसैगरी आईसीसीले पपुवा न्युगिनी, ओमान र स्कटल्यान्डबीचको सिरिज र पपुवा न्युगिनी, अमेरिका र नामिबियाबीचको सिरिज पनि स्थगित गरेको छ ।

कोरोना भाइरसको बढ्दो प्रभाव, लामो क्वारेन्टाइनको प्रावधान र विभिन्न देशमा रहेको यात्रा प्रतिबन्धका कारण सिरिजहरु आधिकारिक रुपमा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको आईसीसीले जनाएको छ ।