सुनसरीमा तेस्रो वीपी कोइराला स्मृति कुस्ती प्रतियोगिता शुरु हुने
२९ माघ, रौतहट । सुनसरीमा राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता फागुन २ र ३ गते हुने भएको छ । सुनसरीको कोशी गाउँपालिकाको कटान क्षेत्रमा तेस्रो वीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता संचालन गर्न लागिएको हो ।
सृष्टि समाज इनरुवा र कोशी गाउँपालिकाको कार्यालयले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा विभागीय सहित ७ वटै प्रदेशको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रम संयोजक बशन्त सुवेदीका अनुसार कोरोना महामारीका यस पटक भने केहि समय ढिला गरी प्रतियोगिता संचालन गर्न लागिएको हो । आयोजकले प्रतियोगिताका अघिल्ला संस्करण सरह यस पटक समेत राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहने जनाएको छ ।
प्रतियोगिता हेर्न ठूलो संख्यामा भारतीय समेत उपस्थित हुने गरेकाले आयोजकले राष्ट्रिय कुस्ती प्रतियोगितालाई स्थानीय पर्यटन र त्यसको प्रवर्धनको रुपमा लिने गरेको छ ।