विश्वभर कोरोना भाइरस संक्रमितको संख्याले नाघ्यो ९० लाख

   ९ असार २०७७, मंगलवार ०६:५६  

काठमाडौं : कोरोना भाइरस संक्रमितको संख्याले ९० लाखको सीमा पार गरेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर संक्रमितको संख्या ९० लाख ७१ हजार ९ सय ८४ पुगेको हो।

सबैभन्दा धेरै संक्रमित संयुक्त राज्य अमेरिकामा रहेका छन्। अहिले ब्राजिल र भारत लगायत दक्षिण एसियामा कोभिड १९ को प्रकोप सबैभन्दा तीब्र रफ्तारमा फैलिरहेको छ।

अमेरिकामा संक्रमितको संख्या २३ लाख १० हजार ७ सय ९८ रहेको छ। ब्राजिलमा ११ लाख ६ हजार ४ सय ७० जनामा संक्रमण देखिएको छ भने रसियामा यो संख्या ५ लाख ९१ हजार ४ सय ६५ पुगेको छ। भारतमा संक्रमितको संख्या ४ लाख २५ हजार २ सय ८२ पुगेको छ।

विश्वविद्यालयले बिहान ६:१८ बजे जारी गरेको तथ्याङ्क अनुसार बेलायतमा संक्रमितको संख्या ३ लाख ६ हजार ७ सय ६१ रहेको छ। पेरुमा यो संख्या २ लाख ५७ हजार ४ सय ४७ रहेको छ। चिलीमा २ लाख ४६ हजार ९ सय ६३ संक्रमित रहेका छन्। त्यसैगरी स्पेनमा २ लाख ४६ हजार ५ सय ४ तथा इटालीमा २ लाख ३८ हजार ७ सय २० जना संक्रमित छन्। इरानमा संक्रमितको संख्या २ लाख ७ हजार ५ सय २५ पुगेको छ।

संक्रमितको मृत्युको आँकडमा अमेरिका पहिलो स्थानमा छ। त्यहाँ १ लाख २० हजार ३ सय ९३ जनाको मृत्यु भइसकेको छ। दोस्रो स्थानमा ब्राजिल छ जहाँ ५१ हजार २ सय ७१ जनाको मृत्यु भएको छ। बेलायतमा मृत्यु हुनेको संख्या ४२ हजार ७ सय ३१ रहेको छ। इटालीमा ३४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ भने फ्रान्समा २९ हजार ६ सय ६६ जनाको। स्पेनमा २८ हजार ३ सय २४ जनाको मृत्यु भइसकेको छ।