प्रधानमन्त्री कपः गण्डकी प्रदेश कर्णाली प्रदेशसँग ५ विकेटले पराजित
६ माघ, रौतहट । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश कर्णाली प्रदेशसँग ५ विकेटले पराजित भएको छ।
प्रतियोगितामा पहिलो जित दर्ता गरेको समूह एको कर्णाली प्रदेश अंक तालिकाको तेस्रो स्थानमा छ। १ खेलमा जित र २ मा हार भोगेको गण्डकी चौथो स्थानमा छ।
समूह चरणमा अपराजित त्रिभुवन आर्मी ४ अंकमा अंकतालिकाको शीर्ष स्थानमा छ। एकमा जित र एकमा हार भोगेको शसस्त्र प्रहरीको एपीएफ २ अंकमा दोस्रो र दुवै खेलमा पराजित प्रदेश १ पुछारमा छ।
गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ दशमलव ५ ओभरमा ७९ बल अगावै भेट्टायो। हिमांशु शाही ६८ र दिवान पुन ८ रनमा नटआउट रहे। विपिन खत्री ४९, राज शाह ३२ र हेमन्त वलीले २९ रनको योगदान गरे। कप्तान रविन्द्र शाही ५ र निश्चल रावल शून्य रनमै पवेलियन फर्के।
गण्डकी प्रदेशका विपिन खत्री एक्लैले ४ विकेट झारे पनि टोलीको हार टार्न भने सकेनन्। सुवास भण्डारीले १ विकेट लिए।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकोे गण्डकीले ४२ दशमलव ३ ओभरमा २ सय ४ रन जोड्दा अल आउट भयो।
गण्डकीका मध्यक्रमका ब्याट्सम्यान राहुल शर्मा उपाध्यायले सर्वाधिक ५३ रनको योगदान दिए। युवा ब्याट्सम्यान अर्जुन कुमालले १ सय ६ बलमा ६ चौका सहित ४६ रन जोडे।
एक समय गण्डकी ७ दशमलव २ ओभरमा २७–३ को अवस्थामा पुगेको थियो। चौथो विकेटका लागि अर्जुन र राहुल शर्मा उपाध्यायले ९५ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीको इनिङस् सम्हालेका थिए।
२८औँ ओभरको चौथो बलमा दिवान पुनले राहुललाई ५३ रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडे। राहुलले ६४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
दीनेश बुढामगर १०, सुवास भण्डारी र विशाल पौडेल १५ रनमा आउट भए। कप्तान विपिन खत्री ३४ बलमा २ चौका र ३ छक्कासहित ३२ रनमा क्याच आउट भए।
कर्णालीका कप्तान रविन्द्रजंग शाहीले १० ओभरमा २ मेडन सहित ३८ रन खर्चेर १ विकेट लिए। दीनेश अधिकारीले २५ रन खर्चेर ३ विकेट लिए। अनुज चुनाराले १ मेडनसहित २५ रन खर्चेर २ विकेट लिए।