फुटबल ठप्प हुँदा तातेको एन्फाको राजनीति

   ९ असार २०७७, मंगलवार ०६:४१  

पछिल्लो समय कोरोना र लकडाउनका कारण फुटबललगायतका खेल रोकिएका छन्। तर, खेल राजनीति भने अझ तातेको छ एन्फामा। पछिल्लो समय एन्फामा हेर्ने हो भने असन्तुष्टि, निलम्बन, नियुक्ति, राजीनामा माग, विधानका कुरा, समिति हेरफेर जस्ता गतिविधिहरु सामान्य बन्दै गएका छन्। अर्थात् फुटबल जति ठप्प छ एन्फा राजनीति त्यति नै तातेको छ।

असन्तुष्टिको पछिल्लो शृङखला सुरु हुन्छ एन्फाको वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङको फरक मतबाट। उनले एन्फा अध्यक्षले एकलौटी ढंगले काम गरेको लगायतका विभिन्न विषयहरुलाई उठान गर्दै आफ्नो असन्तुष्टिलाई ‘नोट अफ डिसेन्ट’ दर्ता गराउँदै औपचारिकता दिएका थिए। यसअघि बाटै नेम्बाङ र कर्माछिरिङ शेर्पाको दुरी बढेको भन्ने चर्चा परिचर्चा चले पनि माघ २६ को एन्फाको वैठकमा असन्तुष्टि जनाएसँगै यो विषय सतहमा आयो।

त्यसपछि एन्फा डे प्रकरणले एन्फामा अर्को विवाद निम्तायो। त्यस्तै एन्फा डे प्रकरणमा पनि ललितपुर फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले नेम्बाङले एउटा ग्रुपमा दिएको शुभकामना सन्देशमा ‘चोरहरुको श्री गणेश डे’ भनेर अभिव्यक्ति दिएपछि एन्फाले उनलाई स्पस्टीकरण सोधेर उनको स्पस्टीकरण चित्त नबुझेको भन्दै निलम्बन गरेको थियो। थापा पक्षले कार्यसमिति बैठक नबसी जिल्ला फुटबल संघको अध्यक्षलाई कारवाही गर्न नपाउने तर्क अघि सारिरहँदा नेम्बाङ भने थापालाई निलम्बन गर्नु एन्फाको कारवाही अवैधानिक भएको भन्ने लाइनमा देखिए।

त्यसलगत्तै एन्फा अध्यक्ष शेर्पाको पनि मधेसमा राष्ट्रियताको विषयलाई लिएर विवादस्पद अभिव्यक्ति आयो। अझ संसदमै कुरा उठ्यो। समाजवादी पार्टीका दुई सांसदहरुले यो विषयलाई उठाए। प्रदीप यादवले त निलम्बनको माग नै गरे। भलै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले यो विषयमा बेखबर भएको भन्दै पन्छिदिए।

‘अध्यक्षज्युले त्यस्तो बोलेको मिडियामा आउने बित्तिकै मैले त एउटा स्टेटमेन्ट जारी गर्नुपर्छ भनेर भनेको थिएँ तर वहाँले मैले बोलेकै होइन भन्नु भयो,’ वरिष्ठ उपाध्यक्ष नेम्बाङले भनेका थिए, ‘मिटिङमा पनि यो कुरा के जानकारी गराउनु पर्‍यो भनेर भन्दा मैले बोलेको होइन पुरा अन्तर्वार्ता सुन्नुहोस भन्नु भयो,’

तर शेर्पाको अभिव्यक्तिलाई लिएर विवाद बढ्दै गयो र जेठ २१ गते शेर्पाले आफ्नो आशय कुनै क्षेत्र, वर्ग या समुदायलाई चोट पुर्‍याउने नभएको र आफ्नो भनाइलाई तोडफोड गरिएको दाबी गर्दै शेर्पाले माफी मागे।

तर शेर्पाको स्पस्टीकरणसँगै यो विवाद सेलाएन। फेरि थापा पक्ष र नेम्बाङ पक्षले प्रश्न उठायो : अभिव्यक्तिकै विषयमा कसैलाई माफी कसैलाई निलम्बन कसरी भयो?

ललितपुर एन्फाका अध्यक्ष थापा प्रश्न गर्छन्, ‘मैले सानो गल्तीमा क्षमा माग्दा नपाउने। निलम्बन गर्ने। तपाइँले विधान मिच्दाचाहीँ माफ माग्ने? अनि माफी मिल्यो? यस्तो पनि नाटक हुन्छ? एन्फा अध्यक्ष विधान भन्दा माथि हो?’

त्यस्तै निर्वाचनको पूर्वाग्रहलाई लिएर एन्फाका कार्यक्रममा चार जिल्लालाई एन्फाले छुट्याएको भन्ने आरोप काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका जिल्ला अध्यक्षहरुले लगाउँदै आएका छन्।

त्यस्तै ललितपुर एन्फाका अध्यक्षलाई पहिला निलम्बन गरेर पछि कार्यसमितिबाट अनुमोदन गरेको भनेर असन्तुष्टि थापा पक्षको छ।

एन्फाको यो प्रबृतिलाई वरिष्ठ उपाध्यक्ष नेम्बाङले यसअघि नोट अफ डिसेन्ट बुझाउँदा नै पहिला निर्णय हुने अनि पछि समितिबाट अनुमोदन गराउने प्रबृतिको कडा शब्दमा विरोध गर्दै आएका थिए।

अझ शेर्पाको अभिव्यक्तिको विषयमा फिफा, एएफसी, प्रधानन्त्रीको कार्यालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद लगायतमा छुट्टाछुट्टै पदाधिकारीहरुले उजुरीसमेत गरिसकेका छन्। फिफामा उजूरी गर्नेमा चार जिल्लाका फुटबल संघ अध्यक्षबाहेक बरिष्ठ उपाध्यक्ष नेम्बाङ र एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठसमेत छन्।