ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

   १ माघ २०७७, बिहीबार १७:१४  

१ माघ, रौतहट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ। स्थानीय समयअनुसार बुधवार दिउँसो ४ बजेपछि उक्त प्रस्तावमा मतदान शुरु भएको थियो।

ट्रम्पविरुद्ध महाभियोग लगाउनुपर्छ भन्ने पक्षमा २३२ मत खसेको छ भने विपक्षमा १९७ मत। महाभियोगको पक्षमा १० जना रिपब्लिकन सांसदहरुले समेत मतदान  गरेका छन्। उक्त मतदान प्रक्रियामा ४ जना रिपब्लिकन सांसद भने सहभागी भएनन्।

मतदान अघि यस प्रस्तावबारे छलफल भएको थियो। क्यापिटल हिलस्थित सिनेटमा भएको दंगामा परी ७ जनाको मृत्यु भएपछि डेमोक्रेट्स ट्रम्पविरुद्ध आक्रामक बनेका हुन्। उक्त दंगा ट्रम्पले उक्साएका प्रदर्शनकारीबाट भएको आरोप उनीहरुको छ।

ट्रम्पले आफ्नो कार्यकालमा यो दोस्रोपटक खेपेको महाभियोग प्रस्ताव हो। अघिल्लो वर्ष भने उनी प्रस्तावबाट बचेका थिए। यसपटक भने माथिल्लो सदन सिनेटमा पनि डेमोक्रेट्सको बहुमत रहेकोले उनलाई महाभियोग प्रस्तावबाट बच्न गाह्रो हुने देखिन्छ।

जनवरी २० मा उनको कार्यकाल सकिँदैछ। यसअघि नै उनलाई महाभियोग लगाएर पदच्युत गर्ने अभियानमा डेमोक्रेट्स लागिपरेका छन्। सिनेटमा भएको हिसांत्मक दंगाका दोषी ट्रम्प भएको कारण देखाउँदै यस्तो गरिएको बताइएको छ।