एएफसीलाई हराउँदै टोटेनहम एफए कप फुटबलको चौंथो चरणमा प्रवेश
२८ पुस, रौतहट । टोटेनहम एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । आइतवार राति भएको तेस्रो चरणको खेलमा मारिन एएफसीलाई ५-० ले हराउँदै टोटेनहम चौंथो चरणमा प्रवेश गरेको हो ।
टोटेनहमको जितमा कार्लोस भिनिसियसले ह्याट्रिक गरे । यस्तै लुकास मौरा र अल्फी डिभाइनले एक एक गोल थपे । मारिनविरुद्ध २४ औं मिनेटमा भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
खेलको ३० औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । खेलको ३२ औं मिनेटमा लुकासले गोल गर्दा टोटेनहम ३-० ले अघि रह्यो ।
खेलको ३७ औं मिनेटमा भिनिसियसले ह्याट्रिक पुरा गर्दै टोटेनहमलाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ६० औं मिनेटमा अल्फीले गोल गर्दै टोटेनहमलाई ५-० को जित दिलाए ।
एजेन्सी