मनसुनी प्रकोप र हाम्रो तयारी

   २४ असार २०७७, बुधबार ०२:५६  

२४असार, २०७७

सुबोध ढकाल

जब प्राकृतिक विपत्ति आइलाग्छ अनि मात्र यसको कारण र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामको लेखाजोखा सुरु हुनु हाम्रो देशको नियतिजस्तै बनिसकेको छ । जबकि गहन चिन्तन, अध्ययन, योजना, कार्यदिशाका साथै त्यसको उचित र प्रभावकारी कार्यान्वयनबाट मात्र यस्तो संवेदनशील तथा अति महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिन्छ ।

वर्षायाम सुरु हुनुभन्दा पहिल्यैदेखि वैज्ञानिक नीति र त्यसलाई व्यवहारमा उतार्ने पूर्ण इच्छाशक्तिसहितको तयारी हुन सके बाढीपहिरोको जोखिमलाई निकै हदसम्म कम गर्न सकिन्छ । मुख्य कुरा अन्य देशमा स्थानीय परिस्थितिअनुसार बनाइएका नीति, कार्यक्रम अनि प्रविधि हामीकहाँ हुबहु उतार्न सकिन्छ भन्ने भ्रममा भने पर्नु हुँदैन ।

अहिले हाम्रो देशमा मनसुन सक्रिय बनिसकेको छ । बाढीपहिरोका घटनाहरू ह्वात्तै बढेका छन् । यस वर्षको मनसुनको यो अवधिमै दुई दर्जनभन्दा बढी मानिसको ज्यान गैसकेको आँकडा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापान प्राधिकरणले दिइसकेको छ । बाढीपहिरोजस्ता प्रकोपबाट हुने जनधनको क्षति कम गर्नका लागि सबैभन्दा पहिले यो समस्याका प्रमुख कारण के–के हुन् अनि तिनको निदान के हो भन्ने बुझ्नुपर्छ । जसरी डाक्टरले कोही किन बिरामी पर्‍यो भन्ने थाहा पाउन अनेक टेस्ट गर्छन् र कारण पत्ता लागेपछि मात्र औषधोपचारबारे निर्णय लिने गर्छन्, त्यसरी नै बाढीपहिरोको कारण र निदान खोजिनुपर्छ । रोगझैं बाढीपहिरो पनि सकेसम्म नआओस् भन्नेमै जोड दिनुपर्छ । तर बाढीपहिरोका कुनैकुनै कारण यस्ता हुन्छन्, जसलाई आफ्नो बलबुताले भ्याएसम्मको उपाय लगाउँदा पनि रोक्न सक्दैनौं । यस्तो अवस्थामा दोस्रो विकल्प अवलम्बन गर्नुपर्छ— बाढीपहिरो आइहाले पनि धेरैभन्दा धेरै मानिसको ज्यान जोगाउन सकियोस्Ù आर्थिक, भौतिक र वातावरणीय क्षति पनि कम होस् । यसका लागि विपत्पूर्व नै कुन ठाउँमा कुन प्रकोपको सम्भावना कति होला अथवा जोखिमको स्तर कस्तो होला भन्ने ज्ञान र सूचना राख्नु जरुरी हुन्छ । नेपालमा जोखिम पहिचान राम्रोसँग गर्न नसकेकैले धेरै मानिसले ज्यान गुमाउनुपरेको छÙ धेरै धनसम्पत्तिको पनि विनाश हुने गरेको छ ।

खोलाको माथिल्लो भेगमा बस्ने समुदायले त्यो क्षेत्रमा घनघोर वर्षा हुँदा मध्य अनि तल्लो तटमा बस्ने समुदायलाई मोबाइल फोनका माध्यमले समयमै जानकारी मात्रै दिन सके पनि बाढीपहिरोबाट हुन सक्ने जनधनको क्षति रोक्न सकिन्छ ।

त्यसो त ठाउँविशेष अति जोखिमयुक्त छ भन्ने थाहा पाएरै पनि धेरै मानिस आफ्नो र परिवारको ज्यान दाउमा राखी जीविकोपार्जन गरिरहेका भेटिन्छन् । जस्तो कि, एक–दुई वर्षअघि मात्र बाढीले बनाएको बगरमा मानिसहरू कटेरो हालेर बसिरहेका देखिन्छन्, केही वर्षपहिले गएको पहिरोको माथिल्लो, मध्य र तल्लो भागमा पनि मानिसहरू घर बनाएर बसिरहेका छन् । ‘यस्तो जोखिमयुक्त स्थानमा किन बसेको ?’ भन्ने प्रश्नको जवाफ धेरैजसोबाट ‘अन्यत्र जग्गाजमिन नभएकाले बाध्य भएर बसेको’ भन्ने पाइने गरेको छ । उब्जनी नै नहुने ठाउँमा खेती गर्ने, बाढीपहिरोको जोखिम रहेका ठाउँहरूमा बस्ती बसाउने, सबै कुराको असुविधा भएको ठाउँमा बलजफ्ती सहर बसाउने, राम्रो उब्जनी हुने जग्गाहरूमा सहरीकरण गरी सडक संरचना निर्माण गर्ने, वनजंगल मास्ने जस्ता कामले गर्दा हाम्रो देशमा विपत् न्यूनीकरणका लागि भनेर जति पैसा खन्याए पनि नतिजाचाहिँ हात लाग्यो शून्य नै भैरहेको छ । मनसुनको झरीलाई रोक्ने सामर्थ्य त कसैसँग हुन्न, तर जोखिमयुक्त ठाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने विषय चाहिँ हाम्रो क्षमताभित्रै पर्नुपर्छ । यस्ता समस्याको समाधानको सुरुआत वैज्ञानिक भू–उपयोग नीति र जोखिमरहित ठाउँमा बस्ती विकासबाटै गर्नु जरुरी छ ।

यस्ता नीति नहुँदा मानिसको जीवन, लगानी, समय र आयस्रोत सबैमा नकारात्मक प्रभाव परिराखेको छ । यो काम रातारात भने हुन सक्दैन । यसमा कुशल योजना, कार्यदिशा, बलियो इच्छाशक्ति, जाँगर, व्यवस्थापन र सबैको अपनत्वसहितको साझा सहभागिता अपरिहार्य हुन्छ । सबै प्राकृतिक प्रकोपको जोखिम घटाउने र समग्र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हुन्छ । उसैले जोखिम स्तरीकरण गरी बाढीजस्ता प्रकोपको हिसाबले देशका कुनकुन बस्ती बढी खतरामा छन् भनी यथाशीघ्र पत्ता लगाइहाल्नुपर्छ । यस्ता बस्तीलाई तुरुन्तै नजिकैका जोखिमरहित ठाउँ पहिचान गरी सार्नुपर्छ । यसको लेखाजोखा गर्दा सबै खाले प्रकोपको एकीकृत जोखिम मूल्यांकन जरुरी हुन्छ । अति दूरगामी प्रभाव पार्ने यस्तो जटिल काममा विपत् प्राधिकरणलाई पूर्ण अधिकार दिनुपर्छ ।

बस्ती स्थानान्तरण केन्द्रसँगै प्रदेश र स्थानीय तहका पनि विभिन्न निकायसँग सम्बन्धित हुन्छ र यी सबै निकायसँग समन्वय गरी निर्णय लिने अधिकार प्राधिकरणले लियो भने काम सहज बन्न जान्छ । मध्यम खालको जोखिमा रहेका बस्ती र ठाउँहरूको त्यसरी नै पहिचान गरी बस्ती नै स्थानान्तरण नगरे पनि सम्भावित बाढीपहिरोबाट हुने क्षति घटाउने कामका योजना, प्रविधि र कार्यक्रम तुरुन्तै लागू गर्नुपर्ने हुन्छ । यदि यो काम गर्न अहिलेको बर्खासम्म भ्याइँदैन भने त्यस्ता पहिचान गरिएका बस्ती वा घरमा रहेकाहरूलाई अवस्था हेरी जोखिमरहित अस्थायी शिविरहरूमा सार्नु जरुरी छ । अहिले पहिचान गरिएका र बनाइएका कार्यक्रमहरूले भविष्यको मनसुनमा हुन सक्ने जोखिमलाई अवश्य पनि घटाउनेछन् । यस्ता कार्यक्रमहरू खोलाको मुहानदेखि मध्य अनि तल्लो तटसम्म रहेका उल्लिखित सबै खाले जोखिम न्यूनीकरण गर्ने खालका हुनुपर्छ । उपल्लो तटीय क्षेत्रमा कुनै जोखिम घटाउने कार्यक्रम नगरी तल्लो तटीय क्षेत्रमा मात्र कार्यक्रमहरू चलाउनु अवैज्ञानिक सिद्ध हुनेछ ।

बाढीपहिरो सुरु भैसकेको अहिलेको अवस्थामा यो काम भैहाल्ला भन्ने आशा कम भए पनि, हुन सके भविष्यका लागि विपत् नियन्त्रणमा अवश्य ठूलो सफलता मिल्नेछ । यस्ता योजना बनाउँदै गर्दा के बिर्सन हुन्न भने, अहिलेका हाम्रा बस्तीहरू, मानिसहरू र धनसम्पत्तिको सुरक्षा राज्यको जिम्मेवारी हो । तर राज्यको मुख ताकेर बसिरहने अवस्था अहिले छैन । सरकारको अहिलेसम्मकै उपस्थिति भनेको विपत् आइसकेपछि गरिने खोज र उद्धारमै सीमित छ । त्यसैले यस्ता काममा गाउँगाउँका युवाहरू अलि बढी सक्रिय हुनुपर्छ । प्रत्येक बस्तीमा युवाहरूको टास्कफोर्स बनाई पानी पर्ने पूर्वसूचनादेखि बाढी आइहाल्दा बस्ने सुरक्षित स्थानको पहिचान, त्यहाँसम्म जाने बाटोको पहिचान, त्यहाँसम्म जाने साधनको जोहो अनि यस्ता सेल्टरमा अत्यावश्यक खानेपानी र खानेकुराको बन्दोबस्त गरिराख्नु अत्यावश्यक छ । विपत्सँग सम्बन्धित सम्पूर्ण जानकारी समुदायसम्म सम्प्रेषण र अन्य स्थानका टास्कफोर्सका साथै सरकारी निकायसँग समेत समान्वय गर्ने काम यिनै टास्कफोर्सले गर्नुपर्छ । सम्बन्धित सरकारी निकायहरूले तिनलाई दिल खोलेर सहयोग र प्रोत्साहन गर्नुपर्छ । बस्तीबस्तीका टास्कफोर्स अनि सम्बन्धित सबै स्थानीय तहबीचको आपसी समन्वय, सद्भाव अनि क्रियाशीलताले नै बाढीपहिरोजस्ता तत्कालको मनसुनजन्य प्रकोपबाट हुने क्षति कम गर्न सकिन्छ ।

बाढीको हकमा, खोलाविशेषको माथिल्लो भेगमा बस्ने समुदायले त्यो क्षेत्रमा घनघोर वर्षा हुँदा मध्य अनि तल्लो तटमा बस्ने समुदायलाई मोबाइल फोनका माध्यमले समयमै पूर्वसूचना मात्रै दिन सके पनि धेरै जनधन जोगाउन सकिन्छ । त्यस्तै, बर्खायाममा पानी जथाभावी बगेको छ र त्यसको कुनै व्यवस्थापन गरिएको छैन भने कुलो काटेर पानी तर्काउने, बस्तीमा परेको चिरा वा खाडल टाल्ने वा पुर्ने, खोला घुमेको ठाउँ आफ्नो बस्तीको फेदीमा पर्छ भने त्यहाँ सम्भावित कटान रोक्न त्यही खोलाका ठूलठूला ढुंगा थुपार्ने जस्ता काम समुदाय आफैंले गर्न सक्छन् । यसबाट पहिरोको जोखिम पनि कम हुन्छ । दीर्घकालीन रूपमा चाहिँ आधुनिक पूर्वसूचनाका प्रविधिलाई बढी जोखिमयुक्त स्थानमा विस्तार गर्दै जानुपर्छ ।

(इन्जिनियरिङ भूगर्भविद् ढकाल त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक हुन् )