दोलखामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

   २१ मंसिर २०७७, आईतवार ०७:१९  

२१ मंसिर, रौतहट । दोलखामा आइतबार बिहान बोलेरले दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो ।

वा २० च ४३७३ नम्बरको बोलेरो आज बिहान करिब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाका अनुसार गाडीमा सवार चालक तामाङको घटनास्थलमै मृत्यु भएको र बिगु ५ का २२ वर्षीया कमला तामाङ घाइते भएका छन् ।

गाडी सडकबाट करीब १५० मिटर तल खसेको थियो । घाइते तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रहरीले जनाएको छ ।