अवैध भारतीय कुखुरा तस्करीले रौतहटका नेपाली कुखुरा किसान मारमा
२४ भदौ, रौतहट । भारतबाट अवैध रूपमा कुखुरा भित्राएर रौतहटका विभिन्न बजारमा खुलेआम बिक्री वितरण हुन थालेपछि स्थानीय नेपाली कुखुरा किसानहरू गम्भीर समस्यामा परेका छन ।
सरकारले पशुपन्छी तथा पशुजन्य उत्पादनको अवैध ओसारपसार नियन्त्रण गर्न विभिन्न व्यवस्था गरे पनि रौतहटको सीमावर्ती क्षेत्र हुँदै भारतीय कुखुरा भित्रिने क्रम बढेको छ । विशेषगरी गौर बजारसहित जिल्लाका विभिन्न स्थानमा भारतीय कुखुराको मासु तथा अण्डा खुलेआम विक्रि भए पनि सरोकारवाला निकायले अनुगमन र निगरानी नगरेको कुखुरा व्यवसायी किसानहरुले बताए छन ।
कुखुरा किसान व्यवसायी संघ रौतहटका अनुसार पछिल्लो समय दैनिक ठूलो परिमाणमा भारतीय कुखुरा जिल्लामा भित्रिने गरेको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखामा पत्रकार सम्मेलन गर्दै उनीहरुले रौतहटको रामपुर खाप, बंकुल, लक्ष्मीपुर सहितका नाकाहरुबाट दैनिक तस्करी भइरहेको बताए । संघका सचिव राधेश्याम साहका अनुसार दैनिक १० टनभन्दा बढी भारतीय कुखुरा रौतहटमा प्रवेश गरिरहेको छ । अवैध रूपमा भित्रिने सस्तो भारतीय कुखुराका कारण नेपाली किसानले उत्पादन गरेको कुखुराले बजार र उचित मूल्य पाउन नसकेको उनीहरूको भनाइ छ ।
स्थानीय किसानहरूले भारतीय कुखुराको अवैध आयातका कारण नेपाली कुखुरा व्यवसाय धराशायी हुने अवस्थामा पुगेको बताएका छन । उनीहरूका अनुसार दाना, औषधि, चल्ला तथा अन्य उत्पादन लागत निरन्तर बढिरहेका बेला अवैध रूपमा भित्रिने कुखुरासँग प्रतिस्पर्धा गर्नुपर्दा किसानले ठूलो घाटा व्यहोर्नुपरेको छ ।
“कुखुरा उत्पादन गर्न किसानले ठूलो लगानी गरेका छन्। तर सीमाबाट अवैध रूपमा सस्तो कुखुरा भित्रिएपछि हाम्रो उत्पादन बिक्री हुन छाडेको छ। यसरी नै तस्करी बढ्दै गए धेरै किसान व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आउँछ ।” कुखुरा व्यवसायी संघका सचिव साहले भने “मासु पसल गर्ने केही व्यक्तिहरुले संगठित रुपमा भारतीय कुखुराको तस्करी गरिरहेका छन ।”
सिमाक्षेत्रमा खटेका सुरक्षाकर्मीहरुको मिलेमतोमै भारतीय कुखुराहरु नेपाली बजारमा आइरहेको संघका उपाध्यक्ष रंजित रामले बताए । किसानहरूले भारतीय कुखुराको अवैध ओसारपसार नियन्त्रणका लागि सीमा नाका तथा बजार क्षेत्रमा प्रभावकारी अनुगमन गर्न प्रशासनसँग माग गरेका छन । उनीहरूले सिमाक्षेत्रमा खोर बनाएर अवैध रूपमा कुखुरा भित्राउने र बिक्री वितरण गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्नसमेत आग्रह गरेका छन ।
यसैबीच, अवैध रूपमा भित्राइएका कुखुरा स्वास्थ्य परीक्षण तथा क्वारेन्टिन प्रक्रियाबिनै बजारमा बिक्री हुन सक्ने भएकाले उपभोक्ताको स्वास्थ्यमा समेत जोखिम हुनसक्ने भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। विशेषगरी रोग लागेका वा अस्वस्थ कुखुरा बजारमा पुगेमा त्यसले पशु स्वास्थ्यसँगै सार्वजनिक स्वास्थ्यमा समेत असर पार्न सक्ने किसानहरूको भनाइ छ ।
किसानहरूले नेपाली कुखुरा व्यवसायलाई संरक्षण गर्न अवैध भारतीय कुखुराको आयात तत्काल रोक्न, सीमामा कडाइ गर्न र बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन । प्रशासनले किसानको समस्या समाधान गर्न तत्काल कदम नचाले नेपाली कुखुरा उत्पादन क्षेत्रमा ठूलो संकट आउन सक्ने उनीहरूको चेतावनी छ।






