सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

   २८ असार २०८३, आईतवार १८:१८  

२८ असार, सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीया छोरा साइफुल शेख रहेका छन्।

रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए।

घर भाडामा लिएर कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका उनका पाँच सन्तानमध्ये तीन जना आइतवार करिब दिउँसो २:३० बजे घरबाट खेल्न निस्किएका थिए ।

खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेको बताइएको छ । सोही खाल्डो गाई, गोरु र भैंसी लगायतका पशुहरूका लागि पानी खान बनाइएको बुझिएको छ ।

घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।