अब रौतहटबासीले घरमै पासपोर्ट बुझ्न पाउने

   २४ बैशाख २०८३, बिहीबार १७:३७  

२४ वैशाख,रौतहट । अब रौतहट जिल्लाबासीले पासपोर्ट लिनका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

आजदेखि पासपोर्ट आवेदन दिने सेवाग्राहीले आफ्नो पासपोर्ट जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने वा घरमै प्राप्त गर्ने भन्ने विकल्प रोज्न पाउने व्यवस्था लागू गरिएको छ ।

घरमै पासपोर्ट बुझ्न चाहने सेवाग्राहीले आवेदन दिने समयमै रु ५५ बराबरको हुलाक टिकट खरिद गरी आवश्यक कागजातसँगै बुझाउनुपर्नेछ । त्यसपछि पासपोर्ट जिल्लामा प्राप्त हुनेबित्तिकै हुलाक सेवामार्फत सम्बन्धित व्यक्तिको घरदैलोमै पुर्‍याइने जनाइएको छ ।

यस व्यवस्थाले सेवाग्राहीलाई सहजता हुनुका साथै समय र खर्चको समेत बचत हुने भएको छ । साथै, हुलाक कार्यालयको सेवा तथा भूमिकालाई पनि थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।