एसिया कप : नेपाल अब भारत र पाकिस्तानको प्रतिष्पर्धी 

   ७ भाद्र २०८०, बिहीबार ११:१५  

गत वैशाख १९ गते घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान सुनिश्चित गरेको थियो । प्रिमियर कपको उपाधि जितेपछि भारत र पाकिस्तानसँग पहिलोपटक आमने–सामनेको अवसर पाएको नेपाली टिम मंगलबार पाकिस्तानको यात्रामा निस्कियो ।

हुन त नेपाली टिमले एसिया कपमा स्थान बनाएको यो पहिलो पटक भने होइन । २१ वर्षअघि पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो, सन् २००१ मा भएको एसीसी ट्रफीको उपविजेताको रुपमा ।

तर भारत–पाकिस्तानको खिचातानीको कारण नेपालले त्यसबेला अवसरको उपयोग गर्नै पाएन । भारत–पाकिस्तानको राजनीतिक विवाद चरम अवस्थामा पुगेपछि सन् २००२ मा आयोजना हुने भनिएको प्रतियोगिता नै रद्द भयो ।

यस संस्करणमा पनि सुरुआती समयमा अवस्था लगभग उस्तै बन्ने देखिन्थो ।  पाकिस्तानमा आयोजना हुने तालिका रहेका कारण भारतीय टिमले सरकारबाट छिमेकी देशको यात्राका लागि अनुमति पाएन ।

पाकिस्तान कसैगरी पनि प्रतियोगिताको आयोजकमा आफ्नो नाम लेखाउन चाहन्थ्यो ।  यी दुईबीच क्रिकेट महाशक्तिबीचको यही शक्ति संघर्षका कारण यस संस्करण पनि रद्द हुने संघारमा पुगिसकेको थियो । तर, पाकिस्तान केही लचिलो बन्दै प्रतियोगिताका लागि ‘हाइब्रिड मोडेल’ को प्रस्ताव गर्‍यो ।

पाकिस्तानको यो मोडेलअनुसार प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी खेलहरु भने श्रीलंकामा हुने सहमति बनेको छ । पाकिस्तानमा चार खेल हुने भए पनि भारतले भने आफ्नो सबै खेल श्रीलंकामा खेल्नेछ ।

पाकिस्तानले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’ मा भारत सहमत भएसँगै प्रतियोगिताबारे उब्जिएका शंका–उपशंका मेटियो ।

नेपाली क्रिकेटलाई एसिया कपको अर्थ ?

प्रतियोगिताका हिसाबले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकप खेल्नु नै नेपाली क्रिकेटको हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।  तर, विश्वकपपछि निरन्तर ओरालो लागेको नेपाली क्रिकेटको लय भारतका मोन्टी देसाई मुख्य प्रशिक्षकको रुपमा आएपछि फेरियो ।

मोन्टी नेपाली टिमको प्रशिक्षकमा आउँदा नेपाली टिमका बारेमा क्रिकेट प्रेमीमाझ गुट–उपगुटको चर्को चर्चा हुन्थ्यो ।  भलै खेलाडीहरु यसलाई सधैँ अस्वीकार गरिरहन्थे । लिग–२ मा लगातार निराशजनक प्रदर्शनका कारण नेपाली टिमले एकदिवसीय मान्यता पनि जोगाउँदैन भन्ने डर उस्तै थियो ।

तर, मोन्टीको आगमनसँगै लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै नेपालले एकदिवसीय मान्यतामात्र जोगाएन, जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा वेस्ट इन्डिज र जिम्बाब्वेजस्ता टेस्ट राष्ट्रसँग खेल्ने अवसरसमेत जुरायो ।

यही लयलाई कायम राख्दै नेपालले घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपका सबै खेल जित्दै एसिया कपमा स्थान बनायो ।

नौ वर्षअघि ट्वान्टी–२० विश्वकप खेले पनि नेपालले हालसम्म भारत र पाकिस्तानसँग अन्तर्राष्ट्रिय मान्यताप्राप्त कुनै पनि क्रिकेट खेल्न सकेको छैन । छिमेकीसँग खेल कूटनीतिमार्फत् क्रिकेटलाई जोड्न सरकारी संयन्त्र चुकिरहे पनि एसिया कपमार्फत् नेपालले त्यो अवसर पाएको छ ।

प्रतिस्पर्धी टिमका हिसाबले नेपालले यो भन्दा सुनौलो अवसर तत्काल पाउने सम्भावना देखिँदैन  । दुई चिर–प्रतिद्वन्दीसँगै एसिया कपको समूह ‘ए’ मा रहेको नेपालले यो अवसरको भरपूर उपयोग गर्ने बताउँछन् रोहित ।

“नेपाली क्रिकेटको विकासका प्रतियोगिता लागि निक्कै महत्वपूर्ण हुन्छ । भारत–पाकिस्तानको खेल विश्वले हेरिरहेको हुन्छ । त्यहाँ हामीले राम्रो क्रिकेट खेल्न सक्यौं भने सबैजनाले नोटिस गरिरहेका हुन्छन्,” एसिया कपका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै कप्तान रोहितले भने, “त्यसले नेपाली क्रिकेटले प्रगति गरिरहेको छ भन्ने थाहा हुन्छ । हामीले पछिल्लो चार–पाँच महिनादेखि राम्रो क्रिकेट खेलिरहेका छौं । यो सुरुआत हो र यसलाई नै निरन्तरता दिने छौं ।”

अवसरको उपयोगमात्रै कि प्रतिस्पर्धाी

पछिल्लो ६–७ महिनायता नेपाली टिमले एसोसिएट टोलीमध्ये अब्बल प्रदर्शन देखाइरहेको छ । लिग–२, प्रिमियर कप र विश्वकप छनोटमा पाएको अवसरलाई उपयोग गरेको नेपालले एसिया कपलाई एक्सपोजर नभई प्रतिस्पर्धाको रुपमा लिएको बताउँछन् रोहित ।

“मलाई लाग्छ हामीले एक्सपोजर धेरै पाइसक्यौँ । मलाई लाग्छ यो समय प्रतिस्पर्धाको हो । एसिया कप होस् वा अब आउने जुनै पनि खेलमा प्रतिस्पर्धाका लागि जाने हो,” रोहितले भने ।

रोहितविरुद्ध रोहित

कपिल देव, राहुल द्रविड, विरेन्द्र सहवाग, सचिन तेल्दुल्कर, महेन्द्रसिंह धोनी हुँदै रोहित शर्मा र विराट कोहलीजस्ता क्रिकेट हस्तीलाई जन्माएको भारतलाई ‘क्रिकेटप्रति पागल देश’ को रुपमा चिनिन्छ ।

विश्व क्रिकेटमा रहेको यही प्रभुत्वका कारण नेपालमा पनि भारतीय टिमको समर्थन गर्ने समर्थकको संख्या ठूलो छ ।  नेपाली टिमका कप्तान रोहित पनि भारतीय क्रिकेटबाट प्रभावित हुने यो सूचीमा पर्छन् ।

भारतीय टिमका कप्तान रोहित शर्मा रोहितका ‘आइडल’ हुन् । आफ्नो ‘आइडल’ विरुद्ध खेल्न पाउनुको उत्साहलाई रोहित (नेपाली) यसरी बयान गर्छन् ।  “सानैदेखि रोहित शर्माको ब्याटिङ हेर्दै आएको । निक्कै मन पर्थ्यो । खेल सकिएपछि अनुभवका कुरा होला, त्यो अनुभवलाई सिकाईमा परिवर्तन गर्नेछु । प्रतियोगिता निक्कै उत्साहित हुने फिल भइरहेको छ,” रोहितले भने ।

भारत र पाकिस्तानका अनुभवी कप्तानअघि टस गर्दाको क्षणलाई कल्पना गर्नुहुन्छ भन्ने प्रश्नमा रोहित हाँस्दै भन्छन्, “म कहिल्यै पनि त्यस्तो कल्पना गर्दिन । खेल कसरी जित्छु भन्ने भिजुअलाइज गर्छु । टस भन्दा पनि म एक ब्याटरको रुपमा बलरहरुलाई कसरी खेल्ने भन्नेबारे सोच्छु ।”

एसिया कपका लागि नेपाली टिम बुधबार पाकिस्तान पुगिसकेको छ ।  अगस्ट ३० देखि प्रतियोगिता सुरु हुने भए पनि एक हप्ताअघि पाकिस्तान पुगेको नेपाली टिमले त्यहाँका स्थानीय क्लबसँग तयारी खेलहरु खेल्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अगस्ट ३० मा उद्घाटन खेलमै घरेलु टिम पाकिस्तानको सामना गर्नेछ ।  त्यसपछि भारतविरुद्धको खेलका लागि नेपालले श्रीलंकाको यात्रा तय गर्नेछ ।  श्रीलंकामा नेपालले अक्टोबर ४ मा भारतविरुद्ध समूह चरणको दोस्रो खेल खेल्नेछ ।

एसिया कपको १६औं संस्करणमा नेपाल, भारत र पाकिस्तानसँगै श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् ।