कराते महासंघको अध्यक्षमा लामा निर्विरोध निर्वाचित

   १३ चैत्र २०७९, सोमबार ०८:२५  

१३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामालाई नेपाल कराते महासंघको महाधिवेशनले अध्यक्षमा आइतबार निर्विरोध निर्वाचित गरेको छ ।

चितवनमा शनिबार भएको महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्विरोध चयन गरेको राखेपले जनाएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा ६ जना उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा रहेका छन् ।

यसअघि महासंघका अध्यक्ष समेत रहिसकेका दावा गुरुङले महासचिवको जिम्मेवारी पाएका छन् । सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र तथा किशोरप्रसाद भट्टराई कोषाध्यक्ष चयन भएका छन् । सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल र शशिकुमार तितुङ सदस्यमा चयन भए ।

महासंघको आइतबारै बसेको बैठकले २ सदस्य र ५ सल्लाहकार मनोनयन गरेको छ । कमला राना र सन्जयकुमार राई सदस्यमा मनोनित भए । दिपेश शाक्य, विष्णु कार्की, निवासगोपाल वैद्य, हरि विष्ट र गणेश कार्कीलाई सल्लाहकारमा चयन गरेको राखेपका कानून शाखाका प्रमुख एवं निर्वाचन अधिकृत नारायणराज अर्यालले जनाएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । प्रधानमन्त्री पुष्पकमल दहालले भर्चुअलमार्फत उद्घाटन गरेको महासंघको साधारणसभामा केन्द्रीय कार्यसमिति, सात प्रदेश तथा सितोरियो, वादोरियो, सोतोकान र गोजुरियाका गरी ६७ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन प्रमुख अर्यालले जानकारी गराए ।

राखेपले गत माघ १२ गते ३ महिना भित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन सम्पन्न गर्ने गरी लामाको अध्यक्षतामा नेपाल कराते महासंघ, तदर्थ समिति गठन गरेको थियो । लामा अघिको तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको ४ वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न नसकेपछि राखेपले करातेका पूर्व खेलाडी लामाको अध्यक्षमा तदर्थ समिति गठन गरेको हो ।

महासंघको निर्वाचन प्रक्रिया भने यसअघिको केन्द्रिय समितिमा रहेका ध्रुवविक्रम मल्ल भने सहभागि भएनन् । यसअघिका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र कोषाध्यक्ष सानुलाल श्रेष्ठ भने अस्वस्थताका कारण उपस्थित नभएको बताइएको छ ।