कोरोनाविरुद्धको खोप दर्ता गर्दै रुस
श्रावण २७ काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोप विकासमा विश्वभरका शक्ति राष्ट्रहरु र वैज्ञानिकहरु जुटिरहेका छन् । अमेरिका, बेलायत, चीन, रुस र भारतलागतयका मुलुकहरुले खोपको विकासको विभिन्न चरण पार गरेका छन् ।
रसियाले ‘पहिलो कोरोना भाइरस भ्याक्सिन’ बनाएको दाबी गरेको छ। रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वभर महामारी फैलाएको कोभिड १९ विरुद्ध पहिलो भ्याक्सिन बनाएको घोषणा गरेको एएफपीले जनाएको छ।
त्यसैरी रुसले भने कोरोनाविरुद्धको तेस्रो चरणको परीक्षण पनि पूरा गरिसकेको बताएको छ । रुसी सञ्चारमाध्यम स्पुतनिकन्युजका अनुसार रुसले अगस्त १२ मा कोरोना भाइरसविरुद्धको पहिलो खोप दर्ता गर्ने भएको हो ।
रुसी कार्यकारी स्वास्थ्य मन्त्री ओलेग ग्रिडनेभले यसअघि नै अगस्त १२ मा विश्वकै पहिलो कोरोना भाइरसविरुद्धको खोप दर्ता गर्ने बताएका हुन् ।
रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरासकोले जामालेय सेन्टर र रुसी रक्षा मन्त्रालयको सहकार्यमा विकास गरिएको यो खोप परीक्षणको सम्पूर्ण चरण पार भइसकेको बताएका छन् । उनले यो खोपको दर्ताको तयारी भइरहेको जानकारी दिएको स्पुतनिक न्युजले उल्लेख गरेको छ ।
यसअघि रुसी रक्षा मन्त्रालयका अधिकारीले खोपको तेस्रो परीक्षणका क्रममा सहभागी सम्पूर्ण रोग प्रतिरोधी क्षमता विकास भएको पाइएको बताएका थिए । रक्षा मन्त्रालयले भनेको थियो, “३८ जना सहभागीहरुमा गरिएको परीक्षणमा सम्पूर्णमा रोग प्रतिरोधी क्षमता विकास भएको पाइएको छ । पहिलो समूहलाई जुलाई १५ मा र दोस्रो समूहलाई जुलाई २० मा डिस्चार्ज गरिएको हो ।”
रुसी राष्ट्रपति भलादिमिर पुटिनले कोरोना भाइरसको खोप कार्यक्रमका लागि आवश्यक बजेट तर्जुमा गर्न सरकारलाई निर्देशन दिइसकेका छन् । उनले करिब ६० प्रतिशत रुसी नागरिकलाई फ्लुविरुद्धको खोप लगाइसक्नुपर्ने समेत बताएका छन् ।
तर, विश्व स्वास्थ्य संगठनले भने यसअघि नै रुसलाई सुरक्षित र प्रभावकारी कोरोनाभाइरसको खोप विकासका लागि आवश्यक डब्लएचओले जारी गरेका निर्देशिकाहरु पालना गर्न आग्रह गरेको थियो । डब्लूएचओले कोरोना भाइरसविरुद्धका सम्पूर्ण खोपको बृहत प्रयोगअघि नै परीक्षणका सम्पूर्ण चरणहरु पार गर्नुपर्ने बताएको छ ।
स्पुतनिकको सहयोगमा






