यूएई ‘ए’विरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

   ५ आश्विन २०७९, बुधबार १५:१०  

प्रतियोगितामा दुवै टिमको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका दुई खेलमा लगातार हार बेहोरेका कारण दुवै टिमको सेमिफाइन पुग्ने सम्भावना समाप्त भइसकेको छ । यसैकारण आजको खेलमा दुवै टिम जितसहित प्रतियोगिताको सुखद् अन्त्यको लक्ष्यमा हुनेछन् ।

यसअघि, प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’सँग नौ विकेटले पराजित भएको थियो ।

यता, यूएई पनि पहिलो खेलमा भारतसँग आठ विकेटले र दोस्रो खेलमा पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।