विश्वकप छनोटको खेलमा कोलम्वियाको सानदार जित

   २१ जेष्ठ २०७८, शुक्रबार १४:३७  

२१ जेठ, रौतहट । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौ चरणको खेलमा कोलम्वियाले सानदार जित दर्ता गरेको छ ।

शुक्रबार बिहान पेरुमा भएको खेलमा कोलम्वियाले घरेल टोलीलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । कोलम्वियाको जितमा यारी मिना, माटेअस युरिवे र लुइस डियाजले गोल गरे । ४०औं मिनेटमा यारी मिनाले डुभान जापटाको पासमा गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाएका थिए ।

४५औं मिनेटमा मिगुइल ट्राउको दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि घरेलु टोली पेरु १० खेलाडीमा समेटिएको थियो । ४९औं मिनेटमा माटेअसले गोल गर्दै कोलम्वियाको अग्रता दोब्बर पारे । उनले जोन मेडिनाको पासमा गोल गरेका थिए । ५५औं मिनेटमा लुइस डियाजले गोल गरेपछि कोलम्विया ३–० ले अघि बढ्यो ।

५९औं मिनेटमा कोलम्विया पनि १० खेलाडीमा समेटियो । ड्यानियल मुनोज मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा कोलम्वियाले जित दर्ता गर्न सफल भयो ।

यो जितपछि कोलम्विया ५ खेलबाट ७ अंक जोडेर छैटौ स्थानमा उक्लन सफल भएको छ । पाराग्वे र उरुग्वेसँग समान ७ अंक रहेपनि कोलम्विया गोल अन्तरमा पछि छ । पराजित पेरु १ अंक जोडेर पुछारमा रहेको छ । पेरुले पाँँच खेलमा जित निकाल्न सकेको छैन ।

हाम्रोखेलकुद