मैत्रीपूर्ण खेल र अन्य क्वालिफायर खेलका लागि नेपाली टाेली कतार उडे
१२ जेठ, राैतहट । इराकसँगको मैत्रीपूर्ण खेल र अन्य विश्वकप क्वालिफायर लगायत एसियन कपका लागि नेपाली फुटबल टोली कतार उडेका छन् ।
कतार एअरवेजको विशेष उडानमार्फत २३ खेलाडी र १२ अफिसियलसहित ३५ जनाको टोली गएराति १० बजे उडेका थिए ।
नेपाली टोली मंगलबार कतारको दोहा पुग्ने र बुधबार त्यहाँबाट इराक प्रस्थान गर्ने एन्फाले जनाएको छ ।
यस पटक टाेली काेट लगाएर गएका छन् । यसअघि अखिल नेपाल फुटबल संघले टोलीलाई ट्रयाकसुट लगाएर पठाउने गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाल पनि टोलीसँगै गएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर टोलीलाई बिदाई गरेको थियो ।
नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।
नेपाली टिममा गोलकिपर किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की रहेका छन् भने डिफेन्डरका रुपमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास रहेका छन् ।
त्यस्तै मिडफिल्डरका रुपमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, आयुष घलान रहेका छन् र फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा रहेका छन् ।






