नेपाललाई बेइजिङ र मस्कटले अक्सिजन सिलिन्डर सहयोग गर्ने

   १ जेष्ठ २०७८, शनिबार १६:०९  

१ जेठ, रौतहट । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउने भएको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ‘ए’ ३३० जहाज शनिबार मस्कट उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज बिहान मस्कटका लागि उडान भरेको वाइड बडी जहाज आज साँझ काठमाडौं फर्किने निगमले जनाएको छ ।

यस्तै, चीनको राजधानी बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज आज गए राति ११ बजे बेइजिङ्ग उडान भर्न लागेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।

आज मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र आजै राति चीनको बेइजिङ्गमा सङ्कलित अक्सिजन सिलिन्डर र कन्सर्नटेटरलगायत अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको पौडेलले जनाएका छन् ।