घरेलु मैदानमा नेपाल पहिलो त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै
३ वैशाख, रौतहट । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदान टियुमा पहिलो पटक त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै छ । शनिवारदेखि नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच टियु मैदानमा त्रिकोणात्मक टि२० आई सिरिज सुरु हुँदैछ ।
पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलसँगै नेपालले घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । यो नेपालमा हुन लागेको पहिलो टि२० सिरिज समेत हुनेछ ।
नेपालले पहिलो त्रिकोणात्मक सिरिज २०१८ मा लर्डस मैदानमा मेरीलेबोन क्रिकेट क्लब र नेदरल्यान्ड्सँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो ।
एमसीसीलाई ९ विकेटले हराएपनि नेदरल्यान्ड्सँगको खेल वर्षाको कारण स्थगित भएको थियो । नेपालले दोस्रो टि२० त्रिकोणात्मक सिरिज गतवर्ष सिंगापुर र जिम्बावेविरुद्ध खेलेको थियो । समग्रमा नेपालले खेल्ने यो तेस्रो त्रिकोणात्मक टि२० सिरिज हुने छ ।






